पहिरोमा परी विद्युत्गृहमा कार्यरत अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाल बेपत्ता भएका हुन्। गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक भने घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेको छ।
घाइते विकलाई पहिरोबाट उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।
विद्युत्गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर विद्युत्गृह पुरिएको हो। पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहका उपकरणमा क्षति पुगेको छ। उपकरणमा क्षति पुगेपछि आयोजनाको विद्युत् उत्पादनसमेत बन्द भएको प्रहरीले जनाएको छ।