तेह्रथुम । बजारमा एलपी ग्यासको अभाव भएको भन्ने जनगुनासो बढेपछि तेह्रथुममा ग्यास डिलरहरूको अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गुल्म हेडक्वार्टर जिरीखिम्ती र नेपाल पत्रकार महासंघ तेह्रथुमको संयुक्त टोलीले म्याङलुङ बजारमा रहेका ग्यास डिलरहरूको अनुगमन तथा निरीक्षण गरेको हो।
अनुगमनका क्रममा डिलरहरूमा रहेको ग्यासको मौज्दात, बिक्री–वितरणको अवस्था तथा उपभोक्ताले ग्यास प्राप्त गर्न भइरहेको सहजता र असहजताबारे जानकारी लिइएको थियो। अनुगमनका क्रममा प्रीमा ग्यास डिलरमा करिब ६० सिलिन्डर, रिजाल ग्यास डिलरमा करिब २२ सिलिन्डर र कोशी ग्यास डिलरमा दुईवटा सिलिन्डर मौज्दात रहेको पाइएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार अनुगमनका क्रममा तत्काल कुनै किसिमको कैफियत वा अनियमितता फेला परेको छैन। उपभोक्ताले ग्यास प्राप्त गर्न ठूलो हैरानी व्यहोर्नुपरेको अवस्था पनि नदेखिएको प्रशासनले जनाएको छ।
बजारमा ग्यास नपाइने भन्ने हल्लाका कारण उपभोक्ता आत्तिने र आवश्यकताभन्दा बढी ग्यास मौज्दात राख्ने प्रवृत्तिका कारण केही डिलरमा ग्यासको मौज्दात कम देखिएको पाइएको हो। एपी ग्यास डिलरका बिक्रेता राजेन्द्र कार्कीका अनुसार ग्यास अभाव हुने हल्लाका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर राख्न खोज्दा माग बढेको छ। डिलरले भने उपभोक्ताको आवश्यकताका आधारमा ग्यास वितरण गर्दै आएको उनले बताए।
अनुगमन टोलीले ग्यास डिलर सञ्चालकहरूलाई प्रचलित मापदण्ड तथा कानुनी व्यवस्थाअनुसार पारदर्शी र व्यवस्थित रूपमा ग्यास बिक्री–वितरण गर्न निर्देशन दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण लिम्बुले बजारमा ग्यासको वास्तविक अवस्था बुझ्न अनुगमन गरिएको बताउँदै तत्काल ग्यास अभाव वा अनियमितताको अवस्था नरहेको जानकारी दिए।
प्रशासनले उपभोक्तालाई पनि बजारमा ग्यास अभाव भएको भन्ने हल्लाकै भरमा आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराख्न आग्रह गरेको छ। ग्यासको आपूर्ति तथा बिक्री–वितरणलाई सहज बनाउन सम्बन्धित निकायले निरन्तर निगरानी गर्ने जनाएको छ।