काठमाडौं । मौलिक लोकदोहोरीको संरक्षण तथा नयाँ प्रतिभालाई अवसर दिने उद्देश्यले टिभी रियालिटी शो ‘लोकदोहोरी च्याम्पियन’ निर्माण हुने भएको छ । रगोन स्टुडियो प्रालिले आयोजना गर्न लागेको शोबारे आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको उद्देश्य, निर्माण टोली, निर्णायक र प्रसारणसम्बन्धी जानकारी दिइएको हो ।
कार्यक्रम प्रमुख अनुपम गौतमका अनुसार मौलिक लोकदोहोरीको संरक्षण र प्रवद्र्धनसँगै नयाँ प्रतिभालाई राष्ट्रियस्तरमा अवसर प्रदान गर्ने उद्देश्यले शो निर्माण गर्न लागिएको हो । कार्यक्रमको निर्देशन माधवराज खरेलले गर्नेछन् भने निर्णायक मण्डलमा पुरुषोत्तम न्यौपाने, रीता थापामगर, पशुपति शर्मा र अमृत खाती रहनेछन् । शोको होस्टका रूपमा दिनेश काफ्ले र इब्सन सञ्ज्याल देखिनेछन् ।
सातै प्रदेशबाट छनोट भएका कुल १०८ टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रारम्भिक प्रतिस्पर्धापछि नकआउट चरण हुँदै प्रतियोगिता अघि बढ्ने आयोजकले जनाएको छ । लोकदोहोरी प्रतिस्पर्धाको मौलिक संरचनामै आयोजना हुने शोको प्रसारण इमेज टिभीबाट हुनेछ । आयोजकका अनुसार ‘लोकदोहोरी च्याम्पियन’ आगामी ३ असोजदेखि प्रसारणमा आउनेछ ।