पत्रकार किशोर श्रेष्ठलाई आज अदालतमा उपस्थित गराइँदै

पत्रकार किशोर श्रेष्ठलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि म्याद थप गर्न आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ। वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेका श्रेष्ठलाई सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो। अदालत लैजानुअघि प्रहरीले आवश्यक कागजपत्र तयार पारिरहेको जनाएको छ।

यसैबीच, प्रहरीले आज बिहान जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको छ। श्रेष्ठको पक्राउ र कार्यालयमा गरिएको खानतलासीको विरोधमा नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटीलगायतका संघसंस्थाले आवाज उठाएका छन्। उनीहरूले श्रेष्ठलाई विनासर्त रिहा गर्न तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन्।

पत्रकार महासंघले श्रेष्ठको पक्राउको विरोधमा आज जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि प्रदर्शनसहित धर्ना दिएको छ। महासंघलगायतका संस्थाले पत्रकारमाथि कानुनी कारबाही गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारलाई ध्यान दिन सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार