साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै

साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुँदैछ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्ने जनाएको छ। साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता पुरस्कारमा सहभागी भएका छन्। विभागका अनुसार उक्त अवधिमा ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल उपहारका लागि अपलोड भएका छन्। यसअघि साउनको पहिलो १५ दिनमा यस्तो बिल अपलोड गर्नेको संख्या ७ हजार ७७ मात्र थियो। यस्तै, क्यूआर कारोबारमार्फत स्वतः सहभागी हुने उपभोक्ताको कारोबार संख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ। पछिल्लो १६ दिनमा उपहार योजनामा कुल ३ करोड २४ लाख ४३ हजार २२९ कारोबार सहभागी भएका छन्। तीमध्येबाट आज १६ जना विजेता छनोट गरिनेछ। प्रत्येक दिनका एक जना विजेताले रु. १ लाख ३३ हजार ३३४ पुरस्कार पाउनेछन् भने कर कटाएपछि उनीहरूको हातमा रु. १ लाख पर्नेछ। साथै, सहभागीमध्ये एक जनाले बम्पर उपहारस्वरूप रु. १० लाख प्राप्त गर्नेछन्, जसमा २५ प्रतिशत कर लाग्नेछ। आजै साउनको पहिलो पाक्षिकमा पुरस्कार जितेका उपभोक्तालाई नगद पुरस्कार प्रदान गर्ने कार्यक्रमसमेत रहेको विभागले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार