बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो । ८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ मत आवश्यक पर्नेमा ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेकपा, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका सांसदले समर्थन गरेका थिए । आचार्यको पक्षमा एमालेका २९, नेकपाका ११, जसपा नेपालका ४ र जनमोर्चाका १ सांसदले मतदान गरेका हुन् । प्रस्तावको पक्षमा बहुमत मत परेपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा गरे । बैठकमा आठ सांसद अनुपस्थित रहेका थिए भने तीन जना तटस्थ बसेका थिए । लुम्बिनी प्रदेशमा एमाले, नेकपा, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा सत्तारूढ तथा नेपाली कांग्रेस र जनमत पार्टी विपक्षमा छन् भने राप्रपा तटस्थ रहेको छ । जसपा नेपाललाई सरकारबाट बाहिरिन पार्टी केन्द्रले निर्देशन दिए पनि प्रदेश संसदीय दलले सरकारलाई समर्थन गर्ने निर्णय गरेपछि आचार्य नेतृत्वको सरकार जोगिएको हो । जसपाका चार सांसदले विश्वासको मत नदिएको भए आचार्यको पक्षमा बहुमत नपुग्ने अवस्था थियो ।