• २०८३ असोज २७ गते मङ्गलवार
  • Preeti To Unicode

दसैँको रमझमभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

दसैँको रमझमभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

बाँके । दसैँको रौनक छाइरहेका बेला बाँकेका किसानलाई भने पाकेको धान वर्षाबाट जोगाउँदै सुरक्षित रूपमा भित्र्याउने चटारो परेको छ। असारमा रोपिएको धान पाकेर खेतभरि पहेँलपुर झुले पनि वर्षाका कारण क्षति हुने चिन्ताले किसानलाई चाडपर्वभन्दा खेतीपातीको काममा बढी व्यस्त बनाएको छ। नेपालगन्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ध्रुव थापा र राप्ती सोनारीका किसान अशोक वलीका अनुसार केही दिनअघि भएको वर्षाले धान काट्ने काम प्रभावित पारेको थियो। अहिले पानी रोकिएपछि किसानहरू खेताला लगाएर तथा अर्मपर्म गरी धान काट्न र भित्र्याउन जुटेका छन्। यस वर्ष दसैँ र धान पाक्ने समय एकैपटक परेकाले किसानलाई धान थन्क्याउनुका साथै गहुँ छर्ने तयारीसमेत गर्नुपर्ने दबाब छ। राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीका अनुसार समयमै मनसुन सुरु भएकाले बाँकेमा धान उत्पादन राम्रो हुने देखिए पनि वर्षा र असिनापानीको जोखिम कायमै छ। कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माका अनुसार जिल्लामा यस वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। वर्षभरको मेहनतबाट प्राप्त धान सुरक्षित रूपमा घर भित्र्याउन पाए यसपालिको दसैँ खुसीमय हुने किसानको अपेक्षा छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार