मानव अधिकार पुरस्कारका लागि व्यक्ति र संस्थाको सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि व्यक्ति र संस्थाको सिफारिस आह्वान

काठमाडौँ । सरकारले यस वर्ष प्रदान गरिने ‘मानव अधिकार पुरस्कार’ का लागि योग्य व्यक्ति र संस्थाको सिफारिस आह्वान गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सूचना जारी गर्दै मानव अधिकारको संरक्षण तथा संवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने एक जना व्यक्ति र एउटा संस्थालाई पुरस्कार प्रदान गर्न सिफारिस माग गरेको हो।

नेपाल सरकारले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा प्रदान गर्दै आएको उक्त पुरस्कारका लागि कुनै पनि व्यक्ति वा संस्थाले योग्य व्यक्ति वा संस्थाको नाम सिफारिस गर्न सक्ने मन्त्रालयले जनाएको छ। सिफारिस गर्न इच्छुक व्यक्ति वा संस्थाले ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ र ‘मानव अधिकार पुरस्कार वितरण कार्यविधि, २०७८’ बमोजिम आवश्यक कागजात संलग्न गरी सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र सिफारिस पठाउनुपर्नेछ।

मन्त्रालयका अनुसार सिफारिस कार्यविधिको अनुसूचीमा उल्लेखित ढाँचामा विवरण भरेर मन्त्रालयमा प्रत्यक्ष वा [email protected] मा इमेलमार्फत पठाउन सकिनेछ। पुरस्कारसम्बन्धी नियमावली तथा कार्यविधिको विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको छ। प्राप्त सिफारिसमध्ये मानव अधिकारको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने एक व्यक्ति र एक संस्थालाई छनोट गरी विशेष समारोहका बीच पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार