काठमाडौँ महानगरपालिका–३२ मा सञ्चालित ‘न्यु फेमिली गर्ल्स होस्टल’लाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले सञ्चालनमा रोक लगाउँदै रु. ३ लाख जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्रहरी प्रभाग कोटेश्वर, काठमाडौँ महानगरपालिका र होस्टल व्यवसायी संघ नेपालको संयुक्त अनुगमन टोलीले निरीक्षण गर्दा होस्टलले आवश्यक न्यूनतम मापदण्ड पूरा नगरेको, अनुमति नलिई वडा कार्यालयमा मात्र दर्ता गरेर सञ्चालन गरेको तथा विद्यार्थीलाई गुणस्तरहीन खाना खुवाएको भेटिएको हो। अनुगमनका क्रममा भर्नाका बेला प्यान बिल जारी नगरेको, जिम्मेवार वार्डेन नराखेको, छात्राहरूसँग गैरजिम्मेवार व्यवहार गर्दै मानसिक यातना दिने गरेको, सीसीटीभी सर्भिलियन्सको व्यवस्था नगरेको तथा रातिको समयमा छात्राहरूलाई अमर्यादित ढङ्गले जबरजस्ती बाहिर निस्कन बाध्य पारिएको समेत पाइएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गर्दै होस्टलको सञ्चालनमा तत्काल रोक लगाइएको हो। थप आवश्यक कारबाहीका लागि होस्टल सञ्चालकलाई सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।