नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालक शिवान तामाङलाई दुई दिनपछि सकुशल उद्धार गरिएको छ। भदौ २ गते बिहान करिब ७ बजे हजुरआमा हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। घर फर्किएपछि नाति शिवान घरमा नभएको थाहा पाएपछि स्थानीय बासिन्दा तथा छरछिमेकीले वन क्षेत्रमा खोजी गरेका थिए। बालक फेला नपरेपछि इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरी व्यापक खोजतलास गरिएको थियो। खोजीका क्रममा भदौ ४ गते बिहान करिब १० बजे शिवानलाई गैँडाकोट नगरपालिका–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा सकुशल फेला पारिएको हो। उद्धार गरिएका बालकलाई आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।