चिरिएको जमिनमाथि त्रासमा ताम्सुका ५८ परिवार

चिरिएको जमिनमाथि त्रासमा ताम्सुका ५८ परिवार

बाजुरा । त्रिवेणी नगरपालिका–९ ताम्सु गाउँका ५८ परिवार अहिले आफ्नै घरमा सुरक्षित महसुस गर्न सकिरहेका छैनन्। यस वर्षको मनसुनी वर्षापछि गाउँको जमिन ठाउँठाउँमा चिराचिरा परेको छ भने गाउँमाथि र आसपासबाट पहिरो खस्ने क्रम रोकिएको छैन। भूकम्पका कारण पहिल्यै कमजोर बनेको जमिन वर्षापछि थप धसिँदा स्थानीयमा जुनसुकै बेला पहिरो खस्ने र घर पुरिने त्रास बढेको हो।

स्थानीय टेक थापाका अनुसार जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ। पानी पर्दा चिराबाट पानी पस्ने, जमिन थप धसिने र पहिरो खस्ने जोखिम बढेपछि स्थानीय दिनमा घरमै खाना खाने र राति त्रिपालमुनि बस्न बाध्य छन्। वडाध्यक्ष नन्द थापाले साउन २८ गतेको पहिरोपछि ताम्सु गाउँका बासिन्दा निरन्तर त्रासमा रहेको बताए। उनका अनुसार गाउँका सबैजसो भागमा चिरा परेकाले त्रिपालमा बस्दा समेत सुरक्षित महसुस गर्ने अवस्था छैन।

साउन २८ गते राति अविरल वर्षासँगै आएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। स्थानीय कर्णबहादुर थापाकी २० वर्षीया छोरी प्रतीक्षा थापा घरभित्रै पुरिएर मृत्यु भएकी थिइन्। प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको प्रयासमा करिब १० घण्टापछि उनको शव निकालिएको थियो। पहिरोमा परी धर्म थापा र धौलीदेवी रावल घाइते भएका थिए। धर्म उपचारपछि घर फर्किए पनि धौलीदेवीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

पहिरोमा ज्यान गुमाएकी प्रतीक्षा बडीमालिका क्याम्पस, फालासैनमा स्नातक तह दोस्रो सेमेस्टरमा अध्ययनरत थिइन्। उनका बुबाआमा र भाइ रोजगारीका लागि भारतको दिल्लीमा बस्दै आएका थिए। घटनाअघि दिउँसो बाख्रा चराउन गएकी प्रतीक्षाले आमासँग फोनमा कुरा गर्दै यसपटक भाइटीका लगाउन दिल्ली आउने बताएकी थिइन्। तर, उनको त्यो सपना अधुरै रह्यो। आमाले छोरीलाई धेरै पढ्नेभन्दा पैसा कमाउन विदेश जाने इच्छा रहेको र त्यसका लागि आफूले पैसा कमाइरहेको बताउने गरेको सम्झिइन्।

बादल देख्दा पनि त्रास

घरभित्र बस्दा पहिरोको डर र त्रिपालमुनि बस्दा वर्षा तथा चिसोको समस्या भएपछि ताम्सुका बासिन्दाको दैनिकी निकै कठिन बनेको छ। विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई सुरक्षित रूपमा कहाँ राख्ने भन्ने चिन्ता स्थानीयमा थपिएको छ। वर्षौँको दुःखले बनाएको घर छाड्नुपर्दा मन भारी भए पनि घरमै बस्न सक्ने अवस्था नरहेको पहिरोपीडित धर्म थापाले बताए।

स्थानीय जीवन थापाका अनुसार आकाशमा बादल देखिनेबित्तिकै गाउँमा त्रास फैलिन्छ। पहिले घरबाट बाहिरिएपछि सुरक्षित भइएला भन्ने लागे पनि अहिले पानी पर्नासाथ पहिरो खस्ने हो कि भन्ने चिन्ताले बादल देख्दा समेत डर लाग्ने अवस्था छ।

त्रिवेणी नगरपालिका प्रमुख कर्णबहादुर थापाले जमिनमा परेका चिरा र धसिएको भू–भागका कारण जुनसुकै बेला पहिरो जानसक्ने भएकाले पूरै गाउँ स्थानान्तरण गर्नुपर्ने अवस्था आएको बताए। नगरपालिकाले तत्काल जोखिममा रहेका परिवारलाई खाना र त्रिपालको व्यवस्था गरे पनि दीर्घकालीन रूपमा बस्ती स्थानान्तरण गर्न नगरपालिकाको स्रोतसाधन पर्याप्त नभएको उनको भनाइ छ। उनले प्रदेश र सङ्घीय सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गरेका छन्।

खेतीयोग्य जमिनसमेत जोखिममा

ताम्सु गाउँका बासिन्दाको मुख्य जीविकोपार्जन कृषि भए पनि पहिरोका कारण घरसँगै खेतीयोग्य जमिनसमेत जोखिममा परेको छ। खेतबारीमा चिरा परेपछि धान, मकै, तरकारीलगायतका बालीमा क्षति पुगेको छ। स्थानीयका अनुसार गाउँको तल बूढीगङ्गा नदीको कटान तथा गाउँको बीच र माथिल्लो क्षेत्रमा सडक निर्माण गर्दा वर्षाको पानी गाउँतिरै आउने अवस्थाले जोखिम थप बढाएको हो।

पहिरोले ताम्सु गाउँमा करिब ६० रोपनी खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ। लगाइएको अन्नबाली नष्ट हुनुका साथै खानेपानी र विद्युत् सेवा समेत प्रभावित भएको स्थानीयले बताएका छन्। वर्षभरि खान पुग्ने अन्न उत्पादन गर्ने खेत नै जोखिममा परेपछि आगामी दिनमा खाद्यान्नको समस्या हुने चिन्ता स्थानीयमा छ।

राहतभन्दा सुरक्षित बासको माग

पहिरोको जोखिम बढ्दै गएपछि स्थानीयले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। त्रिपालमा अस्थायी रूपमा राखेर मात्रै समस्या समाधान नहुने उनीहरूको भनाइ छ। प्रभावित परिवारले गाउँको भौगोलिक तथा भू–वैज्ञानिक अवस्थाको तत्काल अध्ययन गरी सुरक्षित र जोखिमयुक्त क्षेत्र पहिचान गर्न माग गरेका छन्।

स्थानीय टेक थापाका अनुसार ताम्सुवासी अहिले हरेक दिन त्रासमा बाँचिरहेका छन्। आकाशमा बादल लाग्दा पहाडतिर र पानी पर्न थालेपछि जमिनतिर नजर लगाउनुपर्ने अवस्था छ। त्यसैले स्थानीयले राहतभन्दा पनि सुरक्षित बासको माग गरेका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाजुराका नौवटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा छन्। भिरालो भू–भाग, कमजोर भू–बनावट, नदी कटान, अव्यवस्थित सडक निर्माण तथा जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण जिल्लामा विपद्को जोखिम उच्च रहेको समितिले जनाएको छ। ताम्सु गाउँको अवस्थाले भने तत्काल उद्धार र राहतसँगै जोखिमयुक्त बस्तीको वैज्ञानिक अध्ययन तथा दीर्घकालीन पुनःस्थापनाको आवश्यकता झन् स्पष्ट पारेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार