काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर न्यायको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ। घटनामा संलग्न व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै स्वतन्त्र युवाहरूले प्रदर्शन गरेका हुन्।
बालिका हत्याको विरोधमा वीरगञ्ज–पथलैया सडकखण्डसमेत दुई दिनदेखि अवरुद्ध छ। प्रदर्शनका कारण बिहीबार जीतपुरसिमराका सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहे भने वीरगञ्ज भन्सारबाट छुटेका सयौँ मालवाहक सवारीसाधन दुई दिनदेखि सडकमै अलपत्र परेका छन्।
आन्दोलनरत स्थानीयले बालिका हराएको सूचना समयमै इलाका प्रहरी कार्यालय सिमरालाई दिइए पनि प्रहरीले खोजीमा आवश्यक चासो नदिएको आरोप लगाएका छन्। प्रहरीले खोजीमा प्रभावकारी समन्वय नगरेको भन्दै स्थानीयले सिमरा प्रहरीको नेतृत्व परिवर्तनको मागसमेत अघि सारेका छन्।
स्थानीयका अनुसार बालिका हराएको तीन दिनसम्म पनि प्रहरीले प्रभावकारी रूपमा खोजी गर्न सकेन। परिवारले किटानी जाहेरी दिएका व्यक्तिलाई समेत समयमै अनुसन्धानको दायरामा नल्याएको आरोप उनीहरूले लगाएका छन्। मंगलबार साँझ बालिकाको शव भेटिएपछि प्रहरीले जीतपुरसिमरा–२ का दुई किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
आन्दोलनरत पक्षले घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न तथा बालिका हराएको सूचनापछि प्रहरीले गरेको कामकारबाहीबारे समेत छानबिन गर्न माग गरेको छ।