काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ। अधिकारकर्मी तथा मृतकका आफन्तले आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले ‘गरिमालाई न्याय दे’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
गरिमाका परिवारले यसअघि पनि बारामा न्यायको माग गर्दै प्रदर्शन गर्दै आएका छन्। आमा–बुवासहित परिवारका सदस्यहरू सडकमा धर्नामा बसेपछि वीरगञ्ज–पथलैया सडकखण्ड तेस्रो दिन पनि अवरुद्ध भएको छ। बिहीबार राति प्रशासनले स्थानीय व्यक्तिहरूसँग सहमति गरे पनि मृतक परिवारले आफूहरूको अनुमति बिना सहमति गरिएको भन्दै त्यसलाई अस्वीकार गरेका छन्।
मृतकका बाबु मनोज चौधरीले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम स्वयं आएर नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन्। परिवारले गरिमाको न्यायका लागि सरकारबाट ठोस पहल र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै आन्दोलन जारी राख्ने बताएका छन्।