काठमाडौँ । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग १४ बुँदे सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच हिजो भदौ ६ गते भएको वार्तामा सहमति जुटेपछि धर्ना कार्यक्रम स्थगित गरिएको हो। सहमतिपछि आज बिहान ८:५० बजेदेखि सरकारले साझा यातायातका बसको व्यवस्था गरी ३२३ जना ऋणीलाई उनीहरूको गन्तव्यतर्फ पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ८ वटा बसमार्फत ऋणीहरूलाई बिदाइ गरिएको थियो। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आ–आफ्नो क्षेत्रतर्फ पठाइएको हो।