उदयपुरमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुरमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ जहडामा सोमबार बिहान बस र अटो आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस बिहान करिब ९:४५ बजे एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो। अस्पतालका चिकित्सकले मध्याह्न ११:४५ बजे बेलका नगरपालिका–५ की ३४ वर्षीया मन्दिरा मगर र नाम, थर तथा वतन नखुलेकी अर्की एक महिलालाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा अटो चालक बेलका–५ का २८ वर्षीय इन्द्र थापा र सोही ठाउँका १८ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन्। मोरङको विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। तीनै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ।

घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले दुर्घटनामा संलग्न बस र चालक बेलका–५ का ३६ वर्षीय बिक्रम थापालाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार