काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्ने सांसदहरूले बलात्कार तथा हत्याजस्ता जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डसम्मको सजाय दिने गरी कानुन बनाउन माग गरेका छन्। संविधान र मानव अधिकारसम्बन्धी नेपालका अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग बाझिने भए पनि समयअनुकूल कानुन संशोधन गर्न संसद्ले पहल गर्नुपर्ने उनीहरूको तर्क छ।
सांसदहरूले जितपुरसिमरा उपमहानगरपालिका–१ दसधुरे टोलकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई विशेष रूपमा उठाएका छन्। प्रहरीका अनुसार साउन ३१ गते बिहान घरबाट हराएकी गरिमाको खोजीका क्रममा दुई दिनपछि शव फेला परेको थियो। घटनाले बालबालिकाको सुरक्षा र अपराधीमाथि हुने कानुनी कारबाहीबारे पुनः प्रश्न उठाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाश पाठकले नेपालमा मात्र नभई विदेशमा समेत नेपाली छोरीहरू असुरक्षित रहेको बताए। उनले अध्ययनका लागि जापान पुगेकी २५ वर्षीया लक्ष्मी राजवंशीको हत्या र झापाकी १२ वर्षीया रेबिका विश्वकर्मा बेपत्ता भएको विषयसमेत संसद्मा उठाउँदै तत्काल खोजी तथा प्रभावकारी अनुसन्धानका लागि सरकारको ध्यानाकर्षण गराए।
पाठकले लक्ष्मी राजवंशी, निर्मला पन्त र गरिमा चौधरीजस्ता घटना दोहोरिन नदिन राज्यले कठोर कदम चाल्नुपर्ने बताए। संविधानको धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरे पनि त्यसको अर्थ अपराधीलाई संरक्षण गर्नु नभएको उनको भनाइ थियो।उनले बलात्कार र हत्यामा दोषी प्रमाणित भएकालाई जेलमा राखेर राज्यले खर्च व्यहोर्नेभन्दा मृत्युदण्डको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे। संविधान तथा नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी सन्धि–सम्झौतासँग बाझिने भए पनि त्यस्ता कानुनी तथा संवैधानिक प्रबन्धमा पुनर्विचार गर्ने क्षमता संसद्ले राख्नुपर्ने उनको तर्क थियो।
रास्वपाकी सांसद रञ्जु दर्शनाले छोरीलाई पूजा गर्ने भनिएको नेपाली समाजमा छोरीहरू नै असुरक्षित हुनु गम्भीर विडम्बना भएको बताइन्। उनले यस्ता घटना रोक्न कानुनी कारबाहीसँगै विद्यालय तहदेखि नै लैंगिक हिंसा र अपराधविरुद्ध चेतना तथा व्यवहार परिवर्तनको प्रयास गर्नुपर्नेमा जोड दिइन्।
नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले पनि बलात्कार, हत्या तथा महिला र बालबालिकामाथि हुने हिंसाका घटना नरोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले दोषीलाई प्रभावकारी रूपमा कारबाही गर्दै पीडित तथा परिवारलाई न्यायको अनुभूति हुने व्यवस्था गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन्।