जाजरकोट । २०८० कात्तिक १७ गते रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित जाजरकोट, सल्यान र रुकुम पश्चिमका पीडितका लागि स्थायी आवास पुनर्निर्माणको काम सुरु भएको छ। तीन जिल्लाका १४ पालिकामध्ये जाजरकोटको भेरी नगरपालिका–१ बाट पुनर्निर्माण अभियान औपचारिक रूपमा अघि बढाइएको हो।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुरेश सुनारका अनुसार भेरी नगरपालिका–१ बाट आइतबारदेखि भूकम्पपीडितका स्थायी घर निर्माण सुरु गरिएको हो। लामो समयदेखि अस्थायी टहरा, त्रिपाल तथा अन्य संरचनामा बस्दै आएका पीडितका लागि स्थायी घर निर्माणको प्रक्रिया सुरु भएपछि उनीहरूमा नयाँ आशा पलाएको छ।भेरी नगरपालिका–१ रावतगाउँका भूकम्पपीडित चन्द्रे कामी र कौशिला विकको घर शिलान्यास गर्दै पुनर्निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको वडाध्यक्ष दीपक रानाले बताए। चन्द्रे कामीको परिवारले भूकम्पमा ठूलो क्षति बेहोरेको थियो। उनका चार वर्षीय नाति विपिन विकको भूकम्पमा पुरिएर मृत्यु भएको थियो। लामो समयसम्म अस्थायी आवासमा बस्नुपरेपछि अहिले आफ्नै स्थायी घर बन्ने भएपछि पीडित परिवारमा खुसी र आशा देखिएको छ।
जाजरकोट भूकम्प प्रभावित नागरिकका लागि सुरु गरिएको ‘शून्य लागत पुनर्निर्माण कार्यक्रम’ अन्तर्गत भूकम्पबाट क्षति भएका आवास तथा संरचना पुनर्निर्माणमा सहजीकरण गरिने प्राधिकरणले जनाएको छ। आर्थिक रूपमा कमजोर तथा आफ्नै स्रोतबाट घर निर्माण गर्न कठिनाइ भोगिरहेका परिवारलाई प्राथमिकतामा राखेर काम अघि बढाइनेछ।पहिलो चरणमा भेरी नगरपालिका–१ मा १२० र वडा नम्बर २ मा ६८ गरी १८८ वटा पूर्ण रूपमा क्षति भएका घर पुनर्निर्माणका लागि लाभग्राही सूचीमा सूचीकृत भएका छन्। आवश्यक प्रक्रिया पूरा भएका परिवारको घर निर्माण प्राथमिकताका आधारमा अघि बढाइने जनाइएको छ।निजी आवास पुनर्निर्माणअन्तर्गत प्राधिकरणले निर्माण सम्पन्न भएका घरको भुक्तानी पालिकालाई दिने र पालिकाले लाभग्राहीलाई रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ। स्थानीय तहले लाभग्राही छनोट गरी जिल्ला प्रशासन कार्यालयमार्फत आवश्यक कागजातसहित विवरण प्राधिकरणमा पठाएपछि पुनर्निर्माण प्रक्रिया अघि बढ्नेछ।उपसचिव सुनारले अन्य स्थानीय तहलाई पनि लाभग्राही छनोटको प्रक्रिया तत्काल पूरा गरी विवरण पठाउन आग्रह गरेका छन्। लाभग्राही छनोट भएर आवश्यक प्रक्रिया पूरा भएका ठाउँमा पुनर्निर्माण सुरु गरिने उनको भनाइ छ। पुनर्निर्माणलाई सहजीकरण तथा प्राविधिक रूपमा अघि बढाउन प्राधिकरणका उपसचिव सुनार र सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठसहितको टोली जाजरकोटमा खटिएको छ।
भूकम्प गएको लामो समय बितिसक्दा पनि धेरै परिवार स्थायी घरको प्रतीक्षामा छन्। वर्षायाम, चिसो तथा अन्य मौसमी कठिनाइका कारण अस्थायी संरचनामा बस्नुपर्ने बाध्यता पीडितका लागि थप समस्या बनेको छ। त्यसैले स्थायी आवास पुनर्निर्माण सुरु हुनुलाई स्थानीयले महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।भेरी नगरपालिका–१ का वडाध्यक्ष दीपक रानाले भने अहिलेको कार्यविधिबाट व्यवहारिक रूपमा पुनर्निर्माणको काम अघि बढाउन कठिनाइ रहेको भन्दै कार्यविधि परिवर्तन गर्नुपर्ने बताएका छन्। स्थानीय तहमा देखिएका समस्या समाधान गर्दै पुनर्निर्माणलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ।यसैबीच, जाजरकोटको नलगाड नगरपालिकाका भूकम्पपीडित भने अझै अनुदानको प्रतीक्षामा छन्। भूकम्पबाट ठूलो क्षति भएको नलगाडका कतिपय परिवारले अस्थायी आवास निर्माणका लागि सरकारले उपलब्ध गराउने ५० हजार रुपैयाँसमेत समयमै नपाएको गुनासो गरेका छन्। कतिपयले संघीय सरकारबाट रकम नआएको र पालिकाबाट दोस्रो किस्तासमेत नपाएको बताएका छन्।स्थायी आवास पुनर्निर्माणको प्रक्रिया सुरु भएसँगै लाभग्राही सूचीमा छुटेका वास्तविक पीडितलाई समेट्ने, अनुदान वितरणमा भएको ढिलाइ हटाउने, पर्याप्त प्राविधिक जनशक्ति परिचालन गर्ने तथा निर्माण सामग्री सहज रूपमा उपलब्ध गराउने चुनौती पनि कायमै छ। यी समस्या समाधान गर्दै पुनर्निर्माणलाई गति दिन सकेमा लामो समयदेखि अस्थायी आवासमा बस्न बाध्य भूकम्पपीडितले सुरक्षित र स्थायी घर पाउने अपेक्षा गरिएको छ।