चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ निर्माण गरेका छन्। नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको छायांकन राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरो लगायत विभिन्न स्थानमा गरिएको छ। धुर्मुस–सुन्तली मिडियाले निर्माण गरेको सिरियलको निर्देशन सीताराम कट्टेलले गरेका छन्।
निर्माण पक्षका अनुसार सिरियल हरेक शुक्रबार नेपाली समय साँझ ८ः१५ बजे धुर्मुस सुन्तली युट्युब च्यानलमार्फत प्रसारण हुनेछ। अमेरिकामा भने यो शुक्रबार बिहान १०ः३० बजे प्रसारण हुने बताइएको छ। सिरियलको नाम धुर्मुसको विगतमा चर्चित बनेको संवाद तथा थेगो ‘म त मर्छु कि क्या हो’ बाट राखिएको हो।
सिरियलमा सीताराम र कुञ्जना धुर्मुस र सुन्तलीकै भूमिकामा देखिनेछन्। वरिष्ठ हास्य कलाकार मोहन मिश्र पनि मुख्य भूमिकामा छन्। ‘होस प्रसाद’ र ‘मिस्टर फन्टुस’ लगायत लोकप्रिय हास्य कार्यक्रमका कलाकार तथा निर्देशकका रूपमा परिचित मिश्र लामो समयपछि अभिनयमा फर्किएका हुन्। सिरियलमा दिनेश कार्की, शंकर राज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाँई, चुडा धिमाल र धर्म भारतीलगायत कलाकारको अभिनय रहेको छ। साथै, सीताराम र कुञ्जनाले आफ्नी छोरी सुबिहानी कट्टेललाई बाल कलाकारका रूपमा डेब्यु गराएका छन्।
राजु केसीको छायांकन रहेको सिरियलमा आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बज्गाईंको संगीत र राजेन्द्र मानन्धरको सम्पादन रहेको छ। निर्माण पक्षका अनुसार सिरियल केवल मनोरञ्जनमा सीमित नभई अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संघर्ष, सफलता, अवसर, चुनौती र उपलब्धिलाई हास्यव्यंग्यात्मक शैलीमा प्रस्तुत गर्नेछ।
अमेरिकामा बसाइँ सरेपछि नेपाली समुदायले भोग्ने भाषिक, सामाजिक तथा सांस्कृतिक चुनौती, काम र व्यवसायका अनुभव, पारिवारिक सम्बन्ध, नयाँ पुस्ताको सोच र नेपालीपन जोगाउने प्रयासलाई पनि सिरियलको कथावस्तुमा समेटिएको छ। प्रवासी नेपालीको दैनिक जीवनसँग जोडिएका वास्तविक परिस्थिति, अमेरिकाको जीवनशैली र नेपाली समुदायका सामाजिक तथा सांस्कृतिक गतिविधिलाई हास्यका माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यले सिरियल निर्माण गरिएको निर्माण पक्षले जनाएको छ।