रसुवाको उत्तरगयामा भीषण बाढी, हाइड्रोपावर र सवारीसाधनमा ठूलो क्षति

रसुवाको उत्तरगयामा भीषण बाढी, हाइड्रोपावर र सवारीसाधनमा ठूलो क्षति

रसुवाको उत्तरगया गाउँपालिकामा बुधबार बिहान अचानक आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण तटीय क्षेत्रमा व्यापक क्षति भएको र हाइड्रोपावरका संरचनासमेत बगाएको स्थानीय जनप्रतिनिधिले बताएका छन्। उत्तरगया गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष टुकुप्रसाद सुवेदीका अनुसार बाढीका कारण अवस्था निकै भयावह बनेको छ। बाढी प्रभावित क्षेत्रमा धुलो उडिरहेको र पहिरो जाने क्रमसमेत जारी रहेकाले क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको छ।

सुवेदीका अनुसार बाढी आएको खोलामा रहेका चारवटा हाइड्रोपावरमध्ये तीनवटा निर्माण सम्पन्न भइसकेका छन् र ती हाइड्रोपावरका ‘हब’मा ठूलो क्षति पुगेको छ। त्यहाँ कार्यरत मानिसहरू कति हताहत भए भन्नेबारे भने अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन। बाढी केही घटे पनि प्रभावित क्षेत्रमा उद्धार टोली पुग्न सक्ने अवस्था नरहेको उनले बताए। फोन सम्पर्क हुन सक्ने क्षेत्रका स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ।

बाढी गाउँपालिकाको कार्यालय परिसरमा समेत प्रवेश गरेको छ। बाढीका कारण कार्यालय परिसरमा रहेका सवारीसाधन बगेका छन् भने कार्यालय भवनमा भने अहिलेसम्म क्षति नभएको जनाइएको छ। प्रभावित क्षेत्रमा बाढी र पहिरोको जोखिम कायमै रहेकाले थप क्षतिको सम्भावना रहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार