रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सबै हेलिकप्टर स्ट्यान्डबाइमा

रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सबै हेलिकप्टर स्ट्यान्डबाइमा

काठमाडौं । रसुवामा आएको बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखेको छ। प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत आवश्यकताअनुसार तत्काल उद्धार तथा राहत कार्य अघि बढाउन हेलिकप्टरहरू तयारी अवस्थामा राख्न निर्देशन दिइएको जानकारी दिएका छन्। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आफ्ना हेलिकप्टर स्ट्यान्डबाइमा राख्न भनिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ भने अन्य जिल्लाबाट थप जनशक्तिसमेत प्रभावित क्षेत्रमा पठाइएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया अघि बढाइएको छ। विपद् व्यवस्थापन प्राधिकरणले मेडिकल टिम, स्काउट र रेडक्रसलगायतका निकायसँग समन्वय गरिरहेको जनाएको छ। साथै, तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार