काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी आएको खबरप्रति नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर चिन्ता व्यक्त गर्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेका छन्। उनले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन्।
प्रचण्डले सामाजिक सञ्जालमार्फत नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै सबै नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेका हुन्। विपद्को समयमा नागरिकको जीवनरक्षा पहिलो दायित्व भएको उल्लेख गर्दै उनले सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई एकजुट भएर उद्धार तथा राहतमा जुट्न आह्वान गरेका छन्।
उनले संघ, प्रदेश र स्थानीय सरकारसहित सबै पक्षलाई प्रभावित क्षेत्रमा उद्धार, राहत तथा मानवीय सहयोगलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्। साथै, नेपाली कम्युनिस्ट पार्टीका सम्पूर्ण पार्टी पङ्क्तिलाई प्रभावित क्षेत्रमा तत्काल परिचालन भई उद्धार, राहत र मानवीय सेवामा जुट्न तथा स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएका छन्।