प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि ११ सांसदले प्रश्न दर्ता गराए

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि ११ सांसदले प्रश्न दर्ता गराए

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका ११ जना सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। प्रतिनिधि सभा नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने व्यवस्था भए पनि ११ जनाले मात्रै सचिवालयमा नाम दर्ता गराएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ७ जना सांसदले प्रश्न सोध्न पाउने भए पनि तीन जनाले मात्रै प्रश्न दर्ता गराएका छन्। प्रश्न दर्ता गराउनेमा रास्वपाका अमरेशकुमार सिंह, समीक्षा बास्कोटा र कृष्णहरि बुढाथोकी रहेका छन्।

त्यस्तै, नेपाली कांग्रेसबाट प्रमुख सचेतक वासना थापा र गीता गुरुङ, नेकपा एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर र गणेश सिंह ठगुन्नाले प्रश्न दर्ता गराएका छन्। नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि नाम दर्ता गराएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार