काठमाडौँ । केरुङ नाका नजिकै गएको भयानक पहिरो र बाढीबाट ज्यान जोगाउन एक चिनियाँ महिलाले करिब तीन किलोमिटरसम्म गाडी रिभर्स गरेर चलाएको बताएकी छन्। फाङ थर भएकी ती महिलाले चिनियाँ स्थानीय सञ्चारमाध्यम स्याओसियङ डेलीसँग कुरा गर्दै बुधबार तिब्बतबाट नेपालतर्फ गाडीमा आउँदै गर्दा नाकाभन्दा करिब चार किलोमिटर अगाडि रूख र बिजुलीका पोलहरू ढलिरहेको देखेपछि गाडी पछाडि फर्काएको बताएकी हुन्। उनका अनुसार करिब तीन किलोमिटर गाडी ब्याक गरेर पछाडि हटेपछि मात्रै पानीको तीव्र गति केही कम भएको थियो। सुरक्षित स्थानमा गाडी पार्क गरेपछि बाक्लो हुस्सुका कारण अवस्था स्पष्ट देख्न नसकेको उनले बताइन्। त्यसपछि गाडीबाट ओर्लिएर अन्य मानिसहरूसँग छलफल गर्दै आफन्तलाई सम्पर्क गरेकी थिइन्। विपद्बाट प्रभावित नभएको केरुङ बजार फर्किएकी फाङले बुधबार साँझ ५ बजेसम्म नाका क्षेत्रमा रहेका आफ्ना साथीहरूसँग भने सम्पर्क हुन नसकेको जानकारी दिएकी छन्।