काठमाडौं। बुधबार भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले नेपाल–चीन सीमाक्षेत्रका तीन जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीमा परी हालसम्म १६० भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ भने सुरक्षाकर्मी, विदेशी पर्यटकसहित ठूलो संख्यामा मानिस अझै बेपत्ता छन्। यति ठूलो विपद्को सम्भावनाबारे नेपाल र चीन दुवै पक्षबाट समयमै पूर्वसूचना प्राप्त हुन नसकेको देखिएको छ।नेपाल र चीनबीच मौसम तथा जलविज्ञानसम्बन्धी सूचना आदानप्रदानको व्यवस्था भए पनि पछिल्लो घटनाबारे कुनै पूर्वसूचना नआएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार चिनियाँ अधिकारीहरूसँग घटनाको कारणबारे सम्पर्क भइरहेको भए पनि अहिलेसम्म बाढीको वास्तविक कारण स्पष्ट हुन सकेको छैन। घटना नेपालतर्फ भएको हो वा तिब्बततर्फबाट उत्पत्ति भएको हो भन्ने विषयसमेत अझै निश्चित भइसकेको छैन।यता, नेपालस्थित चिनियाँ दूतावासले चीनले नेपाललाई पूर्वसूचना नदिएको भन्ने सामाजिक सञ्जालमा फैलिएका दाबीलाई ‘फेक’ भन्दै खण्डन गरेको छ। दूतावासले प्रारम्भिक जानकारीअनुसार नेपालको भूभागमा गएको भूकम्पपछि हिमपहिरो तथा पहिरो गएको र त्यसबाट नेपाल तथा चीन दुवैतर्फ केरुङ–रसुवागढी सीमा क्षेत्रमा ठूलो मानवीय क्षति भएको जनाएको छ। यद्यपि, बाढीको वास्तविक उत्पत्ति र कारणबारे थप वैज्ञानिक अध्ययन आवश्यक देखिएको छ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले विपत्तिप्रति दुःख व्यक्त गर्दै चीन नेपालसँग दृढतापूर्वक उभिएको बताएका छन्। उनका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण, घाइतेको उपचार र थप क्षति रोक्न निर्देशन दिएका छन्। चिनियाँ दूतावासले पनि आपत्कालीन संयन्त्र सक्रिय गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा समन्वयका लागि कार्यदल पठाएको जनाएको छ।दुवै देशका सम्बन्धित निकायबीच विपद्को मूल्याङ्कन, खोज तथा उद्धार र राहतका विषयमा समन्वय भइरहेको चिनियाँ पक्षको भनाइ छ। चीनका परराष्ट्र, जलस्रोत, मौसम विज्ञान तथा आपत्कालीन व्यवस्थापनसम्बन्धी निकायहरूले नेपाली समकक्षीसँग समन्वय संयन्त्र स्थापना गरी उद्धार तथा विपद् व्यवस्थापनमा सहकार्य गरिरहेको जनाइएको छ।भोटेकोशी क्षेत्रमा यसअघि पनि भीषण बाढीका घटना भएका थिए। सन् २०१६ को बाढीपछि तयार पारिएका प्रतिवेदनहरूले नेपाल–चीन सीमाक्षेत्रमा सीमापार पूर्वसूचना प्रणाली स्थापना गर्न सिफारिस गरेका थिए। विशेषगरी हिमताल फुट्ने, हिमपहिरो जाने वा नदीमा अचानक पानीको बहाव बढ्ने जोखिम भएका क्षेत्रमा समयमै सूचना उपलब्ध गराउन द्विपक्षीय संयन्त्र आवश्यक रहेको विज्ञहरूले औँल्याउँदै आएका छन्।
पछिल्लो घटनाले सीमापार विपद्को पूर्वसूचना प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न फेरि उठाएको छ। तिब्बततर्फ कुनै प्राकृतिक विपद् हुँदा त्यसको प्रभाव नेपालमा पर्न सक्ने भएकाले घटनास्थलबाट तत्काल सूचना संकलन गर्ने, जोखिमको पूर्वानुमान गर्ने र सीमापार सूचना प्रवाह गर्ने संयन्त्रलाई अझ प्रभावकारी बनाउनुपर्ने देखिन्छ।भविष्यमा नेपाल र चीनले मौसम विज्ञान, जलविज्ञान तथा भूगर्भीय जोखिमसम्बन्धी सूचना आदानप्रदान, निगरानी र पूर्वसूचना प्रणालीलाई मजबुत बनाउनुपर्ने आवश्यकता छ। साथै, संयुक्त उद्धार संयन्त्र, सञ्चार तथा समन्वय प्रणाली, जनशक्ति तालिम, प्राविधिक सहयोग र आपत्कालीन सामग्रीको व्यवस्थालाई पनि थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ। हिमाल र नदीले जोडिएका दुई छिमेकीबीच यस्तो सहकार्य बलियो भएमा भविष्यमा हुने सीमापार प्राकृतिक विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्न सक्छ।