काठमाडौँ — नेपालमा बुधबार आएको विपद्पछि जारी खोज, उद्धार तथा राहतकार्यका विषयमा परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा मन्त्री खनालले बाढीबाट प्रभावित नेपाललाई अत्यावश्यक सहयोग गर्ने प्रस्ताव गरेकोमा बङ्गलादेश सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले बाढीपीडितको उद्धार, राहत तथा सहयोगका लागि नेपालले बङ्गलादेशसँग निकट समन्वय कायम राख्ने बताउनुभयो। रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतकार्य जारी रहेको विषम परिस्थितिबीच दुई देशका परराष्ट्रमन्त्रीबीच उक्त टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।