काठमाडौँ । देशमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि गीतकार संघ नेपालले यही भदौ २५ गते आयोजना गर्ने भनिएको वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। भोटेकोशीको बाँध फुटेर त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो क्षति भएकाले देश शोक तथा पीडामा रहेको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको संघले जनाएको छ।
संघले आफ्नो उत्सवभन्दा माथि मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै यस्तो निर्णय गरेको जनाएको छ। बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपद्मा परेका नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकाय, संघसंस्था तथा सम्पूर्ण नेपालीलाई सहयोग गर्न अपिल गरेको छ।
यसैबीच, गीतकार संघ नेपालले भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीपहिरोबाट प्रभावित पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १५ हजार आर्थिक सहयोग गरेको छ। संघका अध्यक्ष वसन्त वित्यासी थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपद्को यस घडीमा संघको सानो सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, संघले विपद्मा रहेका नेपालीप्रति ऐक्यबद्धता प्रकट गर्दै विषम परिस्थितिमा संयमित रहन तथा देश र जनताको हितमा समर्पित हुन गीतकार सदस्यलगायत सम्पूर्णमा आह्वान गरेको छ।