काठमाडौँ । रसुवा जिल्लामा हालै आएको बाढीबाट प्रभावित नागरिकलाई राहतस्वरूप कपडा उपलब्ध गराउने उद्देश्यले अनेरास्ववियू (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले काठमाडौँको तीनकुनेमा तीनदिने ‘क्लोथ बैंक’ सञ्चालन गरेको छ। प्राकृतिक विपद्का कारण समस्यामा परेका परिवारसम्म आवश्यक कपडा सङ्कलन गरी वितरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। अभियानमा सर्वसाधारण, विद्यार्थी, शुभेच्छुक तथा विभिन्न सङ्घ–संस्थालाई प्रयोगयोग्य र सफा कपडा सहयोग गर्न समितिका इन्चार्ज निरोज श्रेष्ठले आग्रह गरेका छन्। समितिका अनुसार सङ्कलन गरिएका सम्पूर्ण कपडा रसुवाका बाढी प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा वितरण गरिनेछ। विपद्को कठिन समयमा मानवीय सेवामा सबैको सहभागिता आवश्यक रहेको भन्दै समितिले उपत्यकावासीलाई अभियानमा साथ दिन आह्वान गरेको छ। अनेरास्ववियू (क्रान्तिकारी) ले विपद्को घडीमा प्रभावित नागरिकको साथमा उभिँदै मानवीय सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतारिरहेको जनाएको छ।