• २०८३ भाद्र १२ गते शुक्रवार
  • Preeti To Unicode

बाढीपीडितका नाममा अनधिकृत रकम नउठाउन प्रधानमन्त्रीको सचिवालयको आग्रह

बाढीपीडितका नाममा अनधिकृत रकम नउठाउन प्रधानमन्त्रीको सचिवालयको आग्रह

काठमाडौँ । भोटेकोशी बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका नाममा व्यक्ति, समूह तथा विभिन्न संस्थाले आफूखुसी आर्थिक सङ्कलन गरिरहेकोप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कतिपय व्यक्ति, समूह तथा संस्थाले अनधिकृत क्युआर कोड तथा व्यक्तिगत बैंक खाता नम्बर सार्वजनिक गरी रकम सङ्कलन गरिरहेको भन्दै सचिवालयले त्यस्ता गतिविधिबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, उचित व्यवस्थापन तथा सम्भावित वित्तीय ठगीबाट बच्न सरकारले सार्वजनिक गरेका आधिकारिक क्युआर कोड तथा बैंक खाता नम्बरमा मात्र आर्थिक सहयोग गर्न सचिवालयले अनुरोध गरेको हो।

प्रधानमन्त्रीको सचिवालयले एक विज्ञप्तिमार्फत विपद्का नाममा हुने अनधिकृत आर्थिक सङ्कलनबाट सचेत रहन आग्रह गर्दै सरकारी रूपमा सञ्चालनमा रहेका कोषमा मात्र सहयोग जम्मा गर्न अनुरोध गरेको छ। सहयोगको सही व्यवस्थापन र पारदर्शी उपयोग सुनिश्चित गर्न आधिकारिक माध्यमबाट मात्र रकम प्रदान गर्नुपर्ने सचिवालयको भनाइ छ।

सरकारका तर्फबाट आर्थिक सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष सञ्चालनमा रहेका छन्। ती कोषमा विभिन्न बैंकमार्फत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको सचिवालयले जनाएको छ। सरकारले सार्वजनिक गरेका आधिकारिक खाता तथा क्युआर कोडमार्फत सहयोग गर्न आग्रह गर्दै व्यक्तिगत खाता वा अनधिकृत माध्यममा रकम नपठाउन सर्वसाधारणलाई सचेत गराइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार