भक्तपुर । भक्तपुरका नेवार समुदायका किसानले जनैपूर्णिमाका दिन भ्यागुताको पूजा गरी विभिन्न परिकारसहित भात खुवाउने परम्परालाई निरन्तरता दिएका छन्। बिहान सबेरै किसानहरू पूजा सामग्री, भात, रोटी, क्वाँटी तथा विभिन्न तरकारीलगायतका खानेकुरा बोकेर आ–आफ्ना खेतमा पुगेका थिए।किसानहरूले खेतको आलीमा बसेर भ्यागुतालाई पाहुनाका रूपमा निम्तो दिँदै पूजा गरेका थिए। पूजा सामग्रीसँगै रक्षाबन्धनको धागो, सिन्दूर र धूप राखिएको थियो। भ्यागुतो प्रत्यक्ष रूपमा सामुन्ने नआए पनि प्रतीकात्मक रूपमा धागो र सिन्दूर चढाउने तथा भातमा मूलाका चाना गाडेर ऐनाको प्रतीक देखाउने चलन रहेको छ। किसानले खेतमा छाडेका खानेकुरा भ्यागुता आएर खाने जनविश्वाससमेत छ।
भक्तपुरमा यो परम्परा सयौँ वर्षदेखि चलिआएको स्थानीय संस्कृतकर्मीहरू बताउँछन्। नेपालभाषामा यसलाई ‘ब्यां चा जानका वानेगू’ भनिन्छ। ‘ब्यां’ को अर्थ भ्यागुतो र ‘जानका वानेगू’ को अर्थ खाना खान जाने भन्ने हुन्छ।संस्कृतिविद्का अनुसार भ्यागुताले बालीनालीमा लाग्ने विभिन्न कीराफट्याङ्ग्रा खाएर किसानलाई सहयोग गर्ने भएकाले त्यसको गुन तिर्न भोज खुवाउने परम्परा बसेको हो। खेतमा काम गर्ने क्रममा विभिन्न जीवजन्तु मारिन सक्ने भएकाले त्यसप्रति क्षमा माग्ने सांस्कृतिक मान्यता पनि यस परम्परासँग जोडिएको पाइन्छ।
भ्यागुताको पूजा प्रकृति र कृषिसँग जोडिएको भक्तपुरको मौलिक सांस्कृतिक परम्परा भएको संस्कृतकर्मी प्रकाश धौभडेलले बताए। उनका अनुसार भ्यागुतालाई प्राचीन गुरु–शिष्य परम्परा तथा ऋग्वेदको ‘मण्डूक ऋचा’सँग समेत जोडेर हेर्ने गरिन्छ। जनैपूर्णिमाका दिन खेतमा भ्यागुतालाई खानेकुरा राख्नुअघि किसानहरूले घरनजिकका मन्दिरमा पूजाआजा गर्ने चलनसमेत रहेको छ।