काठमाडौं । नेपाल–चीन सीमा नजिकै तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह केही घटेसँगै चिनियाँ अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः सुरु गरेका छन्। ताल फुटेर ठूलो बाढी आउन सक्ने जोखिमका कारण केही घण्टाअघि उद्धार कार्य स्थगित गरिएको थियो।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार तालको पानीको सतह घटेपछि अवस्था सामान्य बन्दै गएको छ। पछिल्लो अपडेटअनुसार तालबाट पानी बाहिर बहने (ओभरफ्लो) क्रम पनि रोकिएको छ। बाढीको जोखिम बढेपछि चिनियाँ अधिकारीहरूले करिब तीन घण्टासम्म उद्धार प्रयास रोकेका थिए।
तिब्बततर्फको जलाधार क्षेत्रमा आएको परिवर्तनका कारण नेपालको भोटेकोशी र त्रिशूली नदीमा समेत बाढीको जोखिम बढेको हो। तालको सतह घटेको र पानीको बहाव रोकिएको खबरले तल्लो तटीय क्षेत्रमा केही राहत मिले पनि बाढी पूर्वानुमान महाशाखाले अझै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।विशेषगरी रसुवाको स्याफ्रुबेँसीदेखि मुग्लिनसम्म त्रिशूली नदी किनारमा बसोबास गर्ने स्थानीयलाई अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरिएको छ।