चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला ट्रान्सपोर्ट विमान राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार विमानमार्फत आपत्कालीन राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ आवश्यक उद्धार उपकरणसहित नेपाल आएका छन्।

चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका दुवै विमान करिब तीन घण्टाको उडानपछि काठमाडौं आइपुगेका हुन्। ती विमानमा कुल ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याइएको छ। विपद् प्रभावितका लागि ल्याइएका सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड तथा बिस्कुट र प्राथमिक उपचार किटलगायत सामग्री रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा उक्त राहत सामग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति थियो। सो अवसरमा उनीहरूले नेपाल आइपुगेका चिनियाँ उद्धार विशेषज्ञहरूलाई स्वागत गरेका थिए।

नेपाल–चीन सीमा क्षेत्रलगायत देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा पहिरोपछि उद्धार र प्रतिकार्यमा सहयोग पुर्‍याउन चीनले उक्त आपत्कालीन राहत सामग्री तथा विशेषज्ञ टोली नेपाल पठाएको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार