काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा सोमबार बाढी तथा पहिरोबाट अति प्रभावित क्षेत्रमा स्थलगत निरीक्षणका लागि जाने भएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा थापाले प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्था बुझ्ने तथा थप उद्धार र राहतका लागि आवश्यक पहल गर्ने जानकारी दिएका हुन् । नुवाकोट, रसुवा, धादिङलगायत जिल्लाका नेता तथा कार्यकर्तासँगको छलफलमा उनले विपद्को यस घडीमा सम्पूर्ण ध्यान उद्धार र राहतमा केन्द्रित गर्न निर्देशन दिए । उनले स्थानीय सरकारलाई सक्रिय बनाउनुपर्ने तथा प्रधानमन्त्री राहत कोषमार्फत एकद्वार प्रणालीबाट सहयोग परिचालन गर्नु प्रभावकारी हुने बताए । स्थलगत भ्रमणबाट प्राप्त जानकारीका आधारमा सरकारलाई उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित बनाउन आवश्यक सुझाव दिने पनि थापाले बताए ।