त्रिशूलीको बाढीले घ्याल्चोक–चरौँदी जोड्ने झोलुङ्गे पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोक–चरौँदी जोड्ने झोलुङ्गे पुल बगायो

गोरखा । त्रिशूली नदीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वीराजमार्गअन्तर्गत चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ। स्थानीय विनोद नहर्कीका अनुसार लगातार करिब तीन घण्टा बाढी आएपछि बिहान ११ः३० बजेतिर पुल ढलेर बगेको हो। पुल बगेपछि गण्डकी गाउँपालिका–७ र ८ का स्थानीयलाई त्रिशूली नदी तरेर राजमार्गतर्फ आवतजावत गर्न समस्या भएको छ। घ्याल्चोकका करिब ४०० घरधुरी किसानले तरकारी र दूध चरौँदीस्थित कृषि सहकारीमा बिक्रीका लागि लैजाने मुख्य बाटो यही पुल थियो। पुल बगेपछि किसानलाई कृषि उपज बजारसम्म पुर्‍याउन समस्या हुने भएको छ। यसअघि गत भदौ १० गते आएको बाढीले पुलभन्दा केही तल रहेको धवादीघाटको पुलसमेत बगाएको थियो। धवादीघाटको पुल बगेपछि स्थानीयवासीले घ्याल्चोकको यही पुल प्रयोग गर्दै आएका थिए। अहिले दुवै पुल बगेपछि स्थानीयवासीलाई दैनिक आवतजावतसँगै तरकारी, दूधलगायत कृषि उत्पादन ओसारपसारमा थप समस्या भएको स्थानीय विजय रूपखेतीले बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार