बाँके । बाढीमा परी ज्यान गुमाएका कोहलपुर नगरपालिकाका नागरिकका परिवारलाई स्थानीय सरकारले तत्काल आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । कोहलपुर नगरपालिकाको शनिबार बसेको नगर कार्यपालिका बैठकले बाढीमा मृत्यु भएका नगरवासीका परिवारलाई काजकिरिया खर्चबापत जनही ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । नगरपालिकाका अनुसार हालसम्म कोहलपुरका दुई जनाको बाढीमा परी मृत्यु भएको पुष्टि भएको छ । कोहलपुर नगरपालिका–११ का कबिलाल थारु र सोही वडाका महेश थारुको बाढीका क्रममा मृत्यु भएको हो । कबिलालको शव चितवनमा फेला परेको थियो भने उनको शव शनिबार कोहलपुर ल्याई अन्त्येष्टि गरिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।
महेशको शव पनि कोहलपुर ल्याइएको छ । बाढीपछि कोहलपुरका ११ जना नागरिक अझै सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ । बेपत्ता व्यक्तिका आफन्तले नगरपालिकालाई उपलब्ध गराएको विवरणका आधारमा उनीहरूको खोजी भइरहेको छ । बेपत्ता नागरिकको खोजीका लागि जनप्रतिनिधि, नगर प्रहरी र परिवारका सदस्य सम्मिलित टोली प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय गरिएको नगर प्रहरी प्रमुख थापाले बताए । नगरपालिका–१२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहको नेतृत्वमा गठन गरिएको टोलीमा वडा नम्बर २ का वडाध्यक्ष हरिसिंह कठायत, वडा नम्बर ५ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष श्रीकृष्ण थारुसहित नगर प्रहरी तथा बेपत्ता नागरिकका परिवारका सदस्य सहभागी हुनेछन्।नगर कार्यपालिका बैठकले बाढी तथा अन्य विपद्का कारण प्रभावित नागरिकको खोजी, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिने निर्णय गरेको छ ।
बैठकले बाढी तथा विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ । यसैगरी, बाढी प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउन जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो तीनदेखि सात दिनसम्मको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगरप्रमुख आचार्यले जानकारी दिए । नगरपालिकाले सम्पर्कविहीन नागरिकको खोजी, प्रभावितको उद्धार तथा राहत वितरण र मृतकका परिवारलाई सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।