भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका करिब ६ सय इन्जिनियर, कामदार तथा कर्मचारीको उद्धारमा सरकारले ढिलाइ गरेको भन्दै नेपाल इन्जिनियर्स एसोसिएसनले आक्रोश व्यक्त गरेको छ। विपद् आएको पाँच–छ दिन बितिसक्दा पनि उद्धार प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै एसोसिएसनले फसेका इन्जिनियर तथा श्रमिकको जीवनरक्षाका लागि दबाबमूलक अभियान सुरु गरेको हो। एसोसिएसन अध्यक्ष सुवासचन्द्र बरालले सुरुदेखि नै उद्धारका लागि पहल गरे पनि सरकारले पर्याप्त सहकार्य नगरेको आरोप लगाएका छन्। उनका अनुसार निजी क्षेत्रले विशेषज्ञ र आवश्यक उपकरणसहित सहयोग गर्ने प्रस्ताव गरे पनि त्यसको उपयोग हुन सकेको छैन। लाङटाङ, माथिल्लो त्रिशुली–१ लगायतका आयोजनामा पाँचौँ दिनपछि मात्रै उद्धार सुरु भएको छ भने माथिल्लो त्रिशुली–३ बीमा अझै उद्धार हुन सकेको छैन। उक्त आयोजनामा हेलिकप्टरमार्फत हेभी इक्विपमेन्ट लैजानुपर्ने भए पनि हालसम्म अनुमति नपाएको जनाइएको छ। सरकारको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै एसोसिएसनले ‘आज उनीहरू, भोलि हामी–सुरुङभित्र फसेका इन्जिनियर र श्रमिकको जीवनका लागि आजै आवाज उठाऔँ’ भन्दै सबैलाई उद्धारका लागि आवाज उठाउन आग्रह गरेको छ।