अधिकृत बन्ने सपना अधुरै छाडेर बाढीमा अस्ताए २१ वर्षीय आयुष

अधिकृत बन्ने सपना अधुरै छाडेर बाढीमा अस्ताए २१ वर्षीय आयुष

चितवन । सल्यानको बागचौर नगरपालिका–१० पिपलनेटाका २१ वर्षीय आयुष खड्का सरकारी सेवामा प्रवेश गरेको पाँच महिनामै विनाशकारी बाढीको चपेटामा परेर ज्यान गुमाएका छन्। लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा रसुवाको टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा उनको पहिलो पोस्टिङ भएको थियो। स्नातक तहको परीक्षा दिन भदौ १६ गते गृहजिल्ला सल्यान जाने तयारीमा रहेका आयुष भदौ १० गते बिहान बाढीमा परेका थिए।

बाढीमा परेर बेपत्ता भएका आयुषको शव पाँच दिनपछि भेटिएको थियो। शव बिग्रन थालेकाले घरसम्म लैजान सम्भव नभएपछि सोमबार चितवन र तनहुँको संगमस्थल देवघाटमै उनको अन्त्येष्टि गरिएको उनका काका रमेश खड्काले बताए। परिवारका अनुसार आयुष भदौ १२ गते काठमाडौं आउने र त्यसपछि परीक्षा दिन भदौ १६ गते घर जाने योजनामा थिए।आयुष पढाइमा निकै रुचि राख्थे। लोकसेवा आयोगको खरिदार पदमा नाम निकाले पनि उनी भविष्यमा अधिकृत बन्ने लक्ष्यमा थिए। उनका काका रमेशका अनुसार आयुषले ‘खरिदार हुँदिनँ, म सिधै अधिकृत निकाल्छु’ भन्ने गर्थे। रसुवामा पोस्टिङ हुँदा खासै रुचि नदेखाए पनि परिवारको सल्लाहअनुसार उनले सरकारी सेवामा प्रवेश गरेका थिए। जागिरसँगै पढाइलाई निरन्तरता दिँदै अधिकृत बन्ने उनको सपना थियो।

खड्का परिवारका जेठो छोरा आयुषको परिवारमा बुवा, आमा र एक बहिनी छन्। उनी बाढीमा परेको खबर सुनेपछि आमा मुना बेहोस भएकी थिइन्। सोमबार देवघाटमा अन्त्येष्टि भइरहँदा आमा मुना र बहिनी आयुषा अर्धमूर्छित अवस्थामा पुगेका थिए। अन्त्येष्टिमा सहभागी आफन्तहरूले उनीहरूलाई सम्हालेका थिए।सरकारी सेवामा प्रवेश गरेर आफ्नो भविष्य निर्माण गर्ने क्रममा रहेका आयुषको असामयिक निधनले परिवारसँगै आफन्त र चिनजानका व्यक्तिहरूलाई गहिरो शोकमा डुबाएको छ। अधिकृत बन्ने सपना बोकेका एक होनहार युवाको जीवन बाढीले छोट्याएसँगै उनको परिवारले अपूरणीय क्षति बेहोर्नुपरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार