स्पार्क हाइड्रोइलेक्ट्रिकद्वारा विपद् प्रभावितका लागि २० लाख सहयोग

स्पार्क हाइड्रोइलेक्ट्रिकद्वारा विपद् प्रभावितका लागि २० लाख सहयोग

काठमाडौं । देश प्राकृतिक विपद्को चपेटामा परिरहेका बेला स्पार्क हाइड्रोइलेक्ट्रिक पब्लिक लिमिटेडले विपद् प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ।कम्पनीले विपद्बाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ। थप १० लाख रुपैयाँ बराबरको राहत सामग्री बाढीपहिरो प्रभावित क्षेत्रमा वितरण गर्ने निर्णय गरिएको कम्पनीका अध्यक्ष इन्जिनियर सुदीपकुमार चौधरीले जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा राहत सामग्री उपलब्ध गराइसकिएको छ भने दोस्रो चरणमा थप राहत सामग्री वितरण गरिनेछ।अध्यक्ष चौधरीले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएको बताए। तत्कालको संकटमा पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन निजी क्षेत्र पनि सरकार र समुदायसँगै उभिनुपर्ने उनको भनाइ छ।“विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु हाम्रो मानवीय र सामाजिक दायित्व हो। राहत र उद्धारका लागि आफ्नो क्षमताअनुसार योगदान गर्नु आवश्यक छ,” चौधरीले भने।

स्पार्क हाइड्रोइलेक्ट्रिक पब्लिक लिमिटेडले ताप्लेजुङमा १२८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। जलविद्युत् क्षेत्रमा लगानी गर्दै आएको कम्पनीले व्यावसायिक भूमिकासँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ।बाढीपहिरोबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै कम्पनीले विपद्को सामना गर्न सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकबीच सहकार्य र एकताको आवश्यकता रहेको जनाएको छ

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार