भोटेकोशी बाढीपीडित ७४ परिवारलाई प्रतिपरिवार २ लाख राहत

भोटेकोशी बाढीपीडित ७४ परिवारलाई प्रतिपरिवार २ लाख राहत

सिन्धुपाल्चोक । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित भोटेकोशी गाउँपालिकाका ७३ बेपत्ता परिवार र एक मृतकका परिवारलाई गाउँपालिकाले प्रतिपरिवार २ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। गाउँ कार्यपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाको अध्यक्षतामा भदौ १५ गते बसेको आकस्मिक बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका संरक्षक, अभिभावक वा परिवारका मुख्य व्यक्तिको बैंक खातामार्फत राहत रकम उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।

बाढी र पहिरोका कारण सडक तथा पुल अवरुद्ध हुँदा जोखिममा परेका नागरिकको खोजी तथा उद्धारका लागि आवश्यकताअनुसार हेलिकोप्टरलगायत हवाई साधन प्रयोग गरिने भएको छ भने उद्धार कार्यमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरिनेछ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक दाहालका अनुसार बाढीबाट प्रभावित तथा सम्पर्कविहीन नागरिकको यकिन विवरण वडा कार्यालयमार्फत संकलन गरिसकिएको छ। पीडित परिवारलाई आवश्यकताअनुसार खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन विभिन्न निकायसँग समन्वय भइरहेको उनले बताए। खोजी, उद्धार, उपचार, सुरक्षित स्थानान्तरण तथा पुनःस्थापनामा लाग्ने आवश्यक खर्च गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने निर्णयसमेत गरिएको छ।

बाढीपीडित नागरिकलाई सहयोग गर्न इच्छुक संघ–संस्था तथा व्यक्तिहरूलाई गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्न सार्वजनिक आह्वान गर्ने निर्णय गरिएको छ। गाउँपालिका अध्यक्ष शेर्पाले सामाजिक संघ–संस्था तथा विभिन्न दातासँग समन्वय गरी प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन गाउँपालिका निरन्तर लागिरहेको बताए। बैठकले ‘विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८०’ लाई पहिलो संशोधन गरी २०८३ मा लागू गर्ने निर्णयसमेत गरेको छ। गाउँपालिकाले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै बेपत्ता तथा प्रभावित परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार