• २०८३ भाद्र १६ गते मङ्गलवार
  • Preeti To Unicode

हर्क–सुदन सम्बन्धमा दरार, श्रम संस्कृति पार्टीको बैठकमा किराती समूहलाई बोलाइएन

हर्क–सुदन सम्बन्धमा दरार, श्रम संस्कृति पार्टीको बैठकमा किराती समूहलाई बोलाइएन

काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक आज धरानस्थित होटल गोर्खामा बस्दैछ। पूर्वमन्त्री सुदन किराती समूहसँग पार्टी एकता भएको चार महिनापछि पहिलोपटक बस्न लागेको बैठकमा किराती समूहका नेताहरूलाई भने आमन्त्रण नगरिएको बताइएको छ।चार महिनाअघि सुदन किराती वरिष्ठ नेता बन्ने गरी श्रम संस्कृति पार्टीसँग एकता भएको थियो। किराती समूहबाट एकजना उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य गरी १८ जना पार्टीमा समावेश भएका थिए। एकताअघि श्रम संस्कृति पार्टीमा २३ जना केन्द्रीय सदस्य रहेकामा एकतापछि केन्द्रीय कमिटी ४१ सदस्यीय बनेको थियो।पार्टी एकतापछि हर्क साम्पाङले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत सुदन किरातीलाई कोशी प्रदेशको भावी मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका थिए। किराती निकट एक नेताका अनुसार उनको नाम पार्टीपंक्तिमा सर्वसम्मतजस्तै बनेको थियो। विभिन्न कार्यक्रममा कार्यकर्ताले किरातीलाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्तुत गर्दै नाराबाजी गर्ने गरेको ती नेताको दाबी छ।

किरातीले पूर्वी नेपालमा पार्टीको ‘हातेमालो कार्यक्रम’मार्फत सक्रियता बढाएपछि विभिन्न दलका बहालवाला जनप्रतिनिधिसमेत श्रम संस्कृति पार्टीमा प्रवेश गर्न इच्छुक देखिएको दाबी गरिएको छ। तर पछिल्लो समय हर्क साम्पाङ र सुदन किरातीबीचको सम्बन्धमा चिसोपन आएको देखिएको छ।हर्क साम्पाङले किराती समूहलाई केन्द्रीय कमिटी बैठकमा समेत नबोलाएपछि दुई पक्षबीचको मनमुटाव थप सतहमा आएको छ। किराती पछिल्लो समय साम्पाङको फेसबुक केन्द्रित राजनीतिक गतिविधिप्रति असन्तुष्ट रहेको स्रोतको दाबी छ। पार्टी एकता नै संकटमा पर्ने अवस्था आएको किराती निकट नेताहरूले बताएका छन्।स्रोतका अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको जानकारीसमेत सुदन किरातीलाई औपचारिक रूपमा दिइएको थिएन। हर्क साम्पाङसँग किरातीको प्रत्यक्ष सम्पर्क नभएको लामो समय भइसकेको बताइएको छ। किराती निकट स्रोतले साम्पाङले पार्टीभित्र आवश्यक छलफल र सरसल्लाह नगरी सामाजिक सञ्जालमार्फत निर्णय गर्ने गरेको आरोपसमेत लगाएको छ।

साम्पाङसँग प्रत्यक्ष सम्पर्क हुन नसकेपछि किरातीले आफूहरूलाई बैठकमा नबोलाउनुको कारणबारे पार्टीका अन्य नेताहरूसँग जानकारी लिएका थिए। ती नेताहरूले आजको बैठकमा पार्टी एकताको निर्णय अनुमोदन गर्ने र त्यसपछि भोलिबाट एकीकृत रूपमा बैठक सञ्चालन गर्ने जवाफ दिएको बताइएको छ।तर उक्त जवाफप्रति सुदन किराती पक्ष पूर्ण रूपमा आश्वस्त हुन सकेको छैन। स्रोतका अनुसार किरातीले पछिल्लो राजनीतिक परिस्थितिबारे आफू निकट नेताहरूसँग छलफल गर्दै आगामी रणनीति तय गर्ने तयारी थालेका छन्। यससँगै श्रम संस्कृति पार्टीभित्रको हर्क–सुदन सम्बन्ध र चार महिनाअघि भएको पार्टी एकताको भविष्यबारे प्रश्न उठ्न थालेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार