-
बाढीले घर, सम्पत्ति र आफन्त गुमाउने पीडा मात्रै दिँदैन, यसले मानिसको मनमा गहिरो मनोवैज्ञानिक असरसमेत छाड्न सक्छ। पानीको भेल घटेर अवस्था सामान्य बन्दै गए पनि बाढीका कारण उत्पन्न डर, त्रास, अन्योल र पीडाको असर लामो समयसम्म रहन सक्छ। विशेषगरी परिवारका सदस्य गुमाएका, सम्पत्ति गुमाएका, घाइते भएका वा आफन्तबाट छुट्टिएका व्यक्तिमा यसको प्रभाव अझ गहिरो हुनसक्छ।
त्यसैले विपद्को समयमा उद्धार भन्नाले मानिसलाई जोखिमपूर्ण स्थानबाट सुरक्षित ठाउँमा ल्याउनु मात्र होइन, उसको मनलाई पनि सुरक्षित र स्थिर महसुस गराउनु हो। विपद्को तत्कालीन अवस्थामा घाइतेको शारीरिक उपचारलाई प्राथमिकता दिइए पनि मानसिक स्वास्थ्यलाई पनि समान रूपमा ध्यान दिनुपर्ने मनोचिकित्सक डा. सगुन बल्लभ पन्त बताउँछन्।
उनका अनुसार विपद्का बेला गरिने मनोवैज्ञानिक प्राथमिक सहयोग उपचार होइन। कठिन अवस्थामा परेको व्यक्तिलाई सुरक्षित महसुस गराउने, उसको कुरा ध्यानपूर्वक सुन्ने र आवश्यक सहयोग तथा सेवासँग जोड्ने प्रक्रिया नै मनोवैज्ञानिक प्राथमिक सहयोग हो। यसलाई ‘हेर्नुहोस्, सुन्नुहोस् र जोड्नुहोस्’ भन्ने तीन कुराबाट बुझ्न सकिन्छ।
पहिलो चरणमा प्रभावित व्यक्ति सुरक्षित छ कि छैन, ऊ डराएको वा अलमलिएको छ कि छैन, परिवारबाट छुट्टिएको छ कि छैन तथा खाना, पानी, औषधि वा स्वास्थ्य सेवाको आवश्यकता छ कि छैन भनेर हेर्नुपर्छ। वृद्ध, बालबालिका र अपाङ्गता भएका व्यक्तिको अवस्था पनि विशेष रूपमा पहिचान गर्न आवश्यक हुन्छ। त्यसपछि आफ्नो परिचय दिएर ‘म सहयोग गर्न आएको हुँ’, ‘तपाईंलाई अहिले के चाहिएको छ ?’ वा ‘म तपाईंलाई कसरी सहयोग गर्न सक्छु ?’ भनेर सोध्न सकिन्छ। व्यक्ति कुरा गर्न चाहन्छ भने शान्त भएर सुन्नुपर्छ, तर घटनाको सबै विवरण बताउन बाध्य पार्नु हुँदैन।
आवश्यकता पहिचान भएपछि प्रभावित व्यक्तिलाई स्वास्थ्य सेवा, परिवार खोज्ने संयन्त्र, बाल संरक्षण सेवा, राहत वा स्थानीय तहजस्ता आवश्यक सेवासँग जोड्नुपर्छ। डा. पन्तका अनुसार उद्धारकर्ता वा सहयोगीको भूमिका व्यक्तिको सबै समस्या समाधान गर्नु होइन, आवश्यक सहयोग उपलब्ध गराउनु हो। विपद्मा पहिले सुरक्षा र त्यसपछि मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्छ।
विपद्को तत्कालीन अवस्थामा मानिसका प्राथमिकता पनि फरक हुन्छन्। कहाँ बस्ने, कहाँ सुत्ने, के खाने, शौचालय कहाँ जाने, परिवार कहाँ छ र आफन्तसँग कसरी सम्पर्क गर्ने भन्ने कुरा नै उसका प्रमुख चिन्ता हुन सक्छन्। त्यसैले प्रभावित व्यक्तिलाई पहिले सुरक्षित र स्थिर अवस्थामा ल्याउन आवश्यक हुन्छ। प्रभावित क्षेत्रमा केन्द्रबाट आवश्यकता अनुमान गर्नुभन्दा त्यहाँको वास्तविक आवश्यकता बुझेर सहयोग गर्नुपर्ने डा. पन्तको भनाइ छ।
विपद्मा आफन्त खोजिरहेका व्यक्तिसँग कुराकानी गर्दा पनि विशेष संवेदनशीलता आवश्यक हुन्छ। कसैले ‘मेरो परिवार भेटिन्छ ?’ भनेर सोधेमा ‘पक्का भेटिन्छ’ भनेर झुटो आश्वासन दिनु हुँदैन। बरु ‘मलाई अहिले यसको जानकारी छैन, तर बुझ्ने प्रयास गर्छु’ भन्न सकिन्छ। आफूलाई थाहा नभएको कुरा निश्चित भएको जस्तो गरेर बताउँदा तत्काल केही राहत महसुस भए पनि पछि त्यसले झन् ठूलो मानसिक असर पार्न सक्छ। त्यसैले संवादले न अनावश्यक आशा जगाउनुपर्छ, न अनावश्यक त्रास सिर्जना गर्नुपर्छ।
उद्धार गरेर ल्याइएको व्यक्तिको हकमा पनि घटनाको विवरण सोध्नु पहिलो प्राथमिकता होइन। उद्धारपछि व्यक्ति शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत अस्थिर हुनसक्ने भएकाले पहिले उसको अवस्था बुझ्नुपर्छ। ऊ डराएको छ कि छैन, अलमलिएको छ कि छैन, परिवारबाट छुट्टिएको छ कि छैन तथा खाना, पानी वा औषधिको आवश्यकता छ कि छैन भन्ने कुरा हेर्नुपर्छ। त्यसपछि आवश्यकताबारे सोधेर सहयोग गर्नुपर्छ। व्यक्तिले आफ्नो अनुभव सुनाउन चाह्यो भने ध्यान दिएर सुन्नुपर्छ, तर ‘घटना कसरी भयो ?’, ‘कहाँ हुनुहुन्थ्यो ?’ वा ‘कसरी बाँच्नुभयो ?’ भन्दै घटनाको विवरण निकाल्न खोज्नु उचित हुँदैन। घटनालाई पटक–पटक सम्झाउन खोज्दा व्यक्तिलाई घटना फेरि दोहोरिएजस्तो महसुस हुनसक्छ, जसले डर, आत्तिने र झस्किने समस्या बढाउन सक्छ।
बालबालिकामा थप संवेदनशीलता आवश्यक
विपद्का बेला बालबालिकाको मनोवैज्ञानिक प्रतिक्रिया वयस्कको भन्दा फरक हुन सक्छ। उनीहरू चुप लागेर बस्ने, धेरै बोल्ने, डराउने, आमाबुबालाई छोड्न नचाहने, राति सुत्न नसक्ने, नराम्रो सपना देख्ने वा बारम्बार रुन थाल्नेजस्ता व्यवहार देखाउन सक्छन्। त्यसैले बालबालिकासँग व्यवहार गर्दा थप संवेदनशील हुनुपर्ने डा. पन्त बताउँछन्।
बालबालिकालाई ‘नडराऊ’ मात्र भन्नुभन्दा ‘अहिले तिमी सुरक्षित ठाउँमा छौ, हामी छौँ’ भन्नु बढी प्रभावकारी हुन्छ। सुरुमा आफू को हो भनेर परिचय दिने र बच्चाको अभिभावक वा विश्वासिलो हेरचाहकर्ता को हो भन्ने पहिचान गरी उनीहरूसँग जोड्ने काम गर्नुपर्छ। बच्चाले आफैं घटना बताउन चाहेमा उसका कुरा सुन्नुपर्छ, तर बताउन नचाहेमा जबरजस्ती सोध्नु हुँदैन।
‘के भयो ?’, ‘कसरी भयो ?’ वा ‘तिम्रो अनुभव कस्तो थियो ?’ भनेर पटक–पटक प्रश्न गर्नुको सट्टा ‘तिमी यहाँ सुरक्षित छौ’, ‘तिमीलाई के चाहिएको छ ?’ वा ‘के खान मन छ ?’ जस्ता प्रश्न गर्न सकिन्छ। बालबालिकालाई खेल्ने, चित्र बनाउने, कोर्ने तथा सामान्य गतिविधिमा सहभागी गराउन सके उनीहरूलाई बिस्तारै सामान्य अवस्थामा फर्किन सहयोग पुग्छ।
परिवार हराएका बालबालिकाको हकमा झन् सावधानी आवश्यक हुन्छ। निश्चित जानकारी नभएको अवस्थामा ‘तिम्रो आमा पक्कै आउनुहुन्छ’ भन्नु हुँदैन। बरु ‘मलाई अहिले निश्चित जानकारी छैन, तर म बुझ्ने प्रयास गर्छु’ भन्नुपर्छ। सुरक्षित स्थान, खाना र पानीको व्यवस्था गर्नुका साथै बालबालिकालाई अभिभावक वा विश्वासिलो हेरचाहकर्तासँग जोड्नु प्राथमिक काम हुनुपर्छ।
विपद्पछि मानसिक असर तत्कालै मात्र देखिँदैन
विपद्पछि डर, भय, अन्योल, छटपटी र निराशा देखिनु सबै अवस्थामा मानसिक रोगको संकेत भने होइन। यस्तो प्रतिक्रिया धेरै मानिसमा विपद्को तत्कालीन अवस्थामा स्वाभाविक रूपमा देखिन सक्छ। समय बित्दै जाँदा केही व्यक्तिमा मात्रै मानसिक स्वास्थ्यसम्बन्धी समस्या विकसित हुनसक्छ।
सुरुवाती चरणमा एक्युट स्ट्रेस डिसअर्डरका लक्षण देखिन सक्छन्। व्यक्ति अत्यधिक अन्योलमा पर्ने, डराउने, झस्किने, राति सुत्न नसक्ने वा फेरि त्यस्तै घटना होला कि भन्ने त्रासमा रहने हुनसक्छ। समय बित्दै जाँदा नैराश्यता, दिग्दारीपन, डिप्रेसन र एन्जाइटीका लक्षण देखिन सक्छन्। कतिपय व्यक्तिमा पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) समेत देखिन सक्छ। आघातजन्य घटना बारम्बार सम्झना आइरहने, घटना दोहोरिएजस्तो महसुस हुने, झस्किने र सामान्य जीवनमा फर्किन कठिन हुने अवस्था आउन सक्छ। केही अवस्थामा साइकोसिसजस्ता गम्भीर समस्या पनि देखिन सक्ने डा. पन्त बताउँछन्।
विपद्को तत्कालीन अवस्थामा मानिसको ध्यान जीवन बचाउने, सुरक्षित हुने र आफन्त खोज्नेमा केन्द्रित हुन्छ। तर गास, बास र सुरक्षाको अवस्था बिस्तारै स्थिर हुँदै गएपछि आफूले गुमाएको कुरा महसुस हुन थाल्छ। घर, सम्पत्ति, परिवारका सदस्य, रोजगारी वा जीवनशैली गुमाएको पीडा त्यसपछि अझ गहिरिन सक्छ। शारीरिक रूपमा अंगभंग भएका, टाउकोमा चोट लागेका वा अपाङ्गता हुने किसिमका चोट भएका व्यक्तिमा आफ्नो जीवन, परिवार र कामकाजबाट अलग भएको अनुभूतिले मानसिक असहजता झन् बढाउन सक्छ।
पहिलेदेखि मानसिक समस्या भएकामा जोखिम बढी
पहिलेदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिमा विपद्को असर अझ गम्भीर हुनसक्छ। नियमित औषधि सेवन गरिरहेका व्यक्तिको औषधि बाढीमा बग्न सक्छ वा उपचारमा अवरोध आउन सक्छ। यस्तो अवस्थामा पुरानो समस्या पुनः बल्झिन सक्ने भएकाले राहत तथा पुनर्स्थापनासँगै मानसिक स्वास्थ्य उपचार र औषधिको निरन्तरतामा पनि ध्यान दिनुपर्ने हुन्छ।
त्यस्तै, तनाव कम गर्ने नाममा रक्सी वा अन्य पदार्थको प्रयोग बढ्ने जोखिमसमेत रहन्छ। त्यसैले विपद्पछिको पुनर्स्थापनामा मानसिक स्वास्थ्यलाई छुट्टै विषयका रूपमा नभई समग्र राहत तथा स्वास्थ्य सेवाकै हिस्साका रूपमा लिन आवश्यक हुन्छ।
विपद्को असर घटनास्थलमा मात्र सीमित हुँदैन
विपद्को मनोवैज्ञानिक असर प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा रहेका मानिसमा मात्र सीमित हुँदैन। प्रभावित क्षेत्रमा परिवार वा सम्पत्ति भएका तर काठमाडौं वा विदेशमा रहेका व्यक्तिले पनि डर, त्रास, अन्योल र तनाव अनुभव गर्न सक्छन्। सामाजिक सञ्जाल, भिडियो तथा समाचारमार्फत विपद्को दृश्य निरन्तर हेर्दा उनीहरूको मानसिक तनाव अझ बढ्न सक्छ।
त्यसैले मानसिक स्वास्थ्यको दृष्टिले विपद्को प्रत्यक्ष प्रभावमा परेका व्यक्तिसँगै विपद्सँग भावनात्मक रूपमा जोडिएका मानिसलाई पनि ध्यान दिन आवश्यक हुन्छ।
असामान्य व्यवहार देखिए विशेषज्ञको सहयोग आवश्यक
विपद्पछि डर, त्रास, अन्योल वा छटपटी देखिँदैमा सबैलाई तत्काल मनोचिकित्सकको आवश्यकता पर्दैन। तर व्यक्तिको व्यवहारमा गम्भीर परिवर्तन देखिएमा भने विशेषज्ञको सहयोग लिन ढिला गर्नु हुँदैन।
अत्यन्तै असामान्य व्यवहार देखिनु, रातभर सुत्न नसक्नु, अत्यधिक आक्रामक हुनु, आत्महत्या गर्ने वा आफूलाई हानि पुर्याउने कुरा गर्नुजस्ता अवस्थामा तुरुन्त मानसिक स्वास्थ्य विशेषज्ञसँग समन्वय गर्नुपर्छ। त्यस्तै, एक्लै बोल्ने, बर्बराउने, कसैसँग पनि अन्तरक्रिया नगर्ने, शिविरमा एक्लिएर घोरिएर बस्ने वा व्यक्तिको सामान्य व्यवहार तथा व्यक्तित्वमा ठूलो परिवर्तन देखिएमा पनि त्यसलाई सामान्य मानेर छोड्नु हुँदैन।
प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य विशेषज्ञ उपलब्ध नभए स्थानीय स्वास्थ्यकर्मीले ठूला अस्पताल तथा मानसिक स्वास्थ्य विशेषज्ञसँग समन्वय गर्न सक्छन्। टेलि–साइकियाट्री यस्तो अवस्थामा उपयोगी माध्यम हुनसक्छ। स्थानीय स्वास्थ्यकर्मीले आवश्यक जानकारी लिएर अन्य ठाउँमा रहेका विशेषज्ञसँग परामर्श गरी प्रभावित व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउन सक्छन्।
मानसिक स्वास्थ्य सहयोग दीर्घकालीन हुनुपर्छ
विपद्को समयमा प्रभावित मानिस मानसिक स्वास्थ्य समस्या लिएर अस्पताल नआएको देखिँदैमा उनीहरूमा समस्या छैन भन्ने निष्कर्ष निकाल्न नहुने डा. पन्त बताउँछन्। तत्काल उनीहरूको प्राथमिकता परिवार खोज्ने, आफन्तको अवस्था बुझ्ने, सुरक्षित स्थान खोज्ने वा गुमाएका आफन्तको खोजी गर्ने हुन सक्छ। त्यसैले मानसिक स्वास्थ्यसम्बन्धी समस्या केही समयपछि सतहमा आउने सम्भावना रहन्छ।
नेपाल सरकारले सञ्चालन गरेको राष्ट्रिय आत्महत्या निवारण हेल्पलाइन ११६६ मा मानसिक संकट वा मनोसामाजिक समस्यामा रहेका व्यक्तिले आवश्यक सहयोग लिन सक्छन्। साथै, प्रभावित स्थानीय तहले आफ्नो क्षेत्रमा उपलब्ध मानसिक स्वास्थ्य स्रोतको पहिचान र म्यापिङ गर्न आवश्यक हुन्छ। कहाँ मानसिक स्वास्थ्य विशेषज्ञ छन्, कुन स्वास्थ्य संस्थामा सेवा उपलब्ध छ, कसले तत्काल सहयोग गर्न सक्छ र कहाँ टेलि–साइकियाट्री आवश्यक पर्छ भन्ने जानकारी तयार राख्नुपर्छ।
मनोवैज्ञानिक प्राथमिक सहयोगका लागि विशेषज्ञ नै हुनुपर्छ भन्ने छैन। पहिलो प्रतिक्रियाकर्ता, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक, परिवारका सदस्य वा समुदायका मानिसले पनि आधारभूत सहयोग गर्न सक्छन्। तर गम्भीर मानसिक स्वास्थ्यका लक्षण देखिएका व्यक्तिलाई भने समयमै विशेषज्ञको सेवासँग जोड्नुपर्छ।
भूकम्प र कोरोना महामारीको अनुभवले पनि विपद्पछि मानसिक स्वास्थ्य सहयोग दीर्घकालीन रूपमा आवश्यक हुने देखाएको छ। भौतिक संरचना बन्दै जाँदा, गास, बास र सुरक्षाको अवस्था स्थिर हुँदै जाँदा मानिसले आफूले गुमाएको कुरा अझ गहिरोसँग महसुस गर्न सक्छन्। त्यसैले राहत, पुनर्स्थापना र पुनर्निर्माणसँगै मानसिक स्वास्थ्य सेवालाई पनि दीर्घकालीन योजनाको अभिन्न हिस्सा बनाउन आवश्यक छ।