धादिङ । रसुवाको भोटेकोशी नदी क्षेत्रमा भदौ १० गते बुधबार बिहान आएको विनाशकारी आकस्मिक बाढीले धादिङको त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार भदौ १६ गते साँझसम्म बाढीका कारण ३३ वटा शव र शरीरका २६ टुक्रा गरी कुल ५९ वटा मानव अवशेष फेला परेका छन्। बाढीमा परेकामध्ये हालसम्म तीन जनाको जीवितै उद्धार गरिएको छ, जसमा दुई भारतीय र एक नेपाली नागरिक रहेका छन्। फेला परेका शवमध्ये २७ वटा पोखरास्थित गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, सातवटा काठमाडौंको टिचिङ अस्पतालमा र २३ वटा गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएका थिए। हालसम्म ६ जना मृतकको मात्र पहिचान खुलेको छ र परिवारले शव बुझिसकेका छन्। पहिचान हुन नसकेका शवको कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरी डीएनए नमुना संकलनपछि गजुरीस्थित भोटे चिहान सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ।
बाढीपछि धादिङका विभिन्न पालिकाका गरी १४७ जना अझै सम्पर्कविहीन छन्। आफन्त तथा स्थानीय तहबाट प्राप्त विवरणअनुसार नीलकण्ठ नगरपालिकाबाट ३६ जना र थाक्रे गाउँपालिकाबाट २२ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा धादिङ घर भई रसुवा तथा नुवाकोटमा कार्यरत कर्मचारी र गोसाइँकुण्ड मेला गएका व्यक्तिहरू समेत रहेका छन्। बाढीबाट गल्छी, गजुरी, बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिकाका गरी ५२९ घरधुरी प्रत्यक्ष प्रभावित भएका छन्।बाढीले जिल्लाको भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ। विभिन्न स्थानमा सातवटा पक्की पुल र १६ वटा झोलुङ्गे पुलमा पूर्ण वा आंशिक क्षति पुगेको छ। कोल्पुटार, जहरेखेत, घाटबेसी, फुर्केखोला र जिन्टेटारका पक्की पुल ध्वस्त भएपछि यातायात आवागमन प्रभावित भएको छ। पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक भासिएपछि दुईतर्फी यातायात अवरुद्ध भएको छ। बेनीघाट रोराङको कृष्णभीर, गजुरीको परेवा भीर र शीतलबजार क्षेत्रमा सडकको तल्लो भाग बाढीले बगाउँदा यातायात सञ्चालनमा थप चुनौती उत्पन्न भएको छ।
विपद्को प्रतिकार्य तथा खोज, उद्धार र शव व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका ८ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढीबाट विस्थापित परिवारलाई गल्छी र गजुरीका विभिन्न क्याम्पस तथा सरकारी भवनमा स्थापना गरिएका होल्डिङ सेन्टरमा राखिएको छ। यसैबीच, बाढीले बगाएको धनमाल चोरी गरेको आरोपमा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ। सिद्धलेकस्थित त्रिशूली नदी किनारमा फेला परेको एक सेफ (भल्ट) बाट ६३ हजारभन्दा बढी नगद तथा सुनचाँदीका सिक्का बरामद गरी सुरक्षित राखिएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य अझै जारी रहेको छ।