काठमाडौँ । नेपालमा आएको बाढीको असर बिहारका नदीहरूमा समेत देखिन थालेको छ। गण्डकसहित विभिन्न नदी तथा जलस्रोतमा बाढीको तीव्र बहावसँगै ठूलो सङ्ख्यामा माछा बगेर आएका छन्। यसैबीच बिहारको मत्स्य निर्देशनालयले बाढीसँगै आएका माछा हालका लागि सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
निर्देशनालयका अनुसार बाढीको पानीमा मरेका जीवजन्तु, लेदो, फोहोर तथा अन्य जैविक अवशेष मिसिएकाले नदीको पानी दूषित हुन सक्ने र त्यसको असर माछामा समेत पर्न सक्ने सम्भावना छ। बाहिरबाट हेर्दा स्वस्थ देखिने माछा पनि दूषित हुन सक्ने भएकाले परीक्षणविना त्यस्ता माछाको सेवन सुरक्षित नहुने निर्देशनालयले जनाएको छ।
नेपालमा परेको भारी वर्षा र बाढीपछि गण्डक नदीमा माछाका साथै पशु तथा अन्य जैविक अवशेषसमेत बगेर बिहारतर्फ पुगेको बताइएको छ। गण्डक किनारका केही क्षेत्रमा नदी आसपास शवसमेत देखिएको सूचना सार्वजनिक भएपछि नदीको पानीको गुणस्तर र त्यसबाट प्राप्त हुने माछाको सुरक्षाबारे थप चिन्ता बढेको छ।
बाढीसँगै ठूलो सङ्ख्यामा अस्वाभाविक आकारका माछासमेत बगेर आएको बताइएको छ। अचानक माछाको उपलब्धता बढेपछि केही क्षेत्रका बजारसम्म त्यस्ता माछा पुगेको खबर छ। परीक्षणविना यस्ता माछा बजारमा बिक्री भई उपभोग भए खाद्य सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुन सक्ने भन्दै मत्स्य निर्देशनालयले सचेत गराएको हो।
यस अवस्थालाई ध्यानमा राख्दै मत्स्य निर्देशनालयले सम्बन्धित सूचना तथा जनसम्पर्क निकायमार्फत सर्वसाधारणलाई सचेत गराउन आग्रह गरेको छ। निर्देशनालयले माझी तथा सर्वसाधारणलाई बाढीको पानीबाट सिधै समातिएका माछाको खरिद–बिक्री र सेवनमा सावधानी अपनाउन अनुरोध गरेको छ।
निर्देशनालयले हालका लागि बाढीको पानीसँगै आएका माछा उपभोगमा हतार नगर्न तथा सम्बन्धित निकायबाट परीक्षण नभएसम्म त्यस्ता माछा सेवन नगर्न स्पष्ट आग्रह गरेको छ।