१७ भदौ, जनकपुरधाम । धनुषामा इनारमा खसेको बाख्रा निकाल्न पसेका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका–१ का राजकुमार रौनियारका ३५ वर्षीय छोरा रामचन्द्र रौनियार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओमप्रकाश खनालका अनुसार गोलघर नजिक रहेको सार्वजनिक इनारमा गत भदौ १३ गते बिहान एउटा बाख्रा खसेको थियो। बाख्रा निकाल्न रामचन्द्र पनि इनारमा पसेका थिए।
तर, उनी इनारमा पसेको करिब एक घण्टासम्म बाहिर ननिस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुगेर उद्धारको प्रयास गर्दा रामचन्द्रको इनारभित्रै मृत्यु भइसकेको पाइएको थियो।प्रहरीका अनुसार इनारभित्र निसासिएर उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।