• २०८३ भाद्र १८ गते बिहिवार
  • Preeti To Unicode

जलवायु परिवर्तनका कारण बाढीको जोखिम बढ्यो, जलवायु न्याय माग्नुपर्ने परियारको जोड

जलवायु परिवर्तनका कारण बाढीको जोखिम बढ्यो, जलवायु न्याय माग्नुपर्ने परियारको जोड

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूलीमा आएको महाप्रलयकारी बाढी जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य योगदान गरे पनि त्यसको घातक मूल्य नेपाली नागरिकले चुकाउनुपरेको बताए। ‘हामीले नगरेको अपराधको सजाय किन हाम्रा नागरिकले भोग्ने ?’ भन्दै परियारले नेपालले अब अन्तर्राष्ट्रिय मञ्चमा दया वा राहत मात्र नभई जलवायु न्याय र अधिकार माग्नुपर्नेमा जोड दिए। धेरै कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहरूले संयुक्त राष्ट्रसंघमार्फत क्षतिपूर्ति तथा हानी र क्षति कोषबाट नेपाललाई स्रोत उपलब्ध गराउनुपर्ने भन्दै उनले यसका लागि सरकारले बलियो कूटनीतिक पहल गर्नुपर्ने बताए। विश्व मौसम संगठन र संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमका प्रतिवेदन उद्धृत गर्दै उनले सन् २०१५ देखि २०२५ सम्मका ११ वर्ष इतिहासकै तातो वर्ष बनेको र तापक्रम वृद्धिको प्रत्यक्ष असर नेपालको हिमाली क्षेत्रमा परेको बताए। तापक्रम वृद्धिका कारण हिमताल फुट्ने तथा भोटेकोशीजस्ता नदीमा आकस्मिक महाबाढी आउने जोखिम बढेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। परियारले राहत वितरणमा दोहोरोपन हुन नदिन तीनै तहको समन्वयमा एकद्वार प्रणाली लागू गर्न, प्रभावित नागरिकलाई भौगर्भिक अध्ययनका आधारमा सुरक्षित स्थानमा पुनर्स्थापना गर्न, देशभर जलवायु जोखिम नक्साङ्कन तयार गरी विकास नीतिको केन्द्रमा राख्न तथा सडक, जलविद्युत् र नयाँ बस्ती निर्माण गर्दा नदीको बहाव क्षेत्र र भूगर्भीय जोखिमलाई आधार बनाएर मात्र स्वीकृति दिने नीति कडाइका साथ लागू गर्न सरकारलाई आग्रह गरे।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार