• २०८३ भाद्र १९ गते शुक्रवार
  • Preeti To Unicode

उद्धारकर्ता र पीडितको अदम्य साहसको प्रशंसा गर्दै रास्वपा महामन्त्री आचार्य

उद्धारकर्ता र पीडितको अदम्य साहसको प्रशंसा गर्दै रास्वपा महामन्त्री आचार्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले विपत्तिका बीच आफ्नै ज्यान जोखिममा राखेर उद्धारमा खटिएका उद्धारकर्ता तथा जीवन जोगाउन संघर्ष गरिरहेका पीडितहरूको अदम्य साहसको प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले उद्धारकर्ताको साहस र पीडितहरूको बाँच्ने दृढ इच्छाशक्तिलाई भावुक शब्दमा सम्मान गरेका हुन्।

आचार्यले कसैको निभ्नै लागेको धड्कनलाई आफ्नै हातले तानेर बचाउन सक्दाको क्षण निकै भावुक हुने उल्लेख गरेका छन्। उनले मृत्युको चिसो अँध्यारोमा लगभग हारिसकेको अवस्थामा अचानक कसैको हात समाउन पाउँदा ‘अब त बाँचियो’ भन्दै झरेको आँसुले जीवनको वास्तविक अनुभूति गराउने बताएका छन्।उनले एकातिर आफ्नै सास हत्केलामा राखेर अर्काको सास खोज्दै हिँड्ने उद्धारकर्ता र अर्कोतिर ‘कोही त आउला नि’ भन्ने झिनो आशा बोकेर भोक, प्यास र त्रासका बीच पनि हिम्मत नहार्ने पीडितहरूलाई योद्धाको संज्ञा दिएका छन्।

आचार्यले आगामी केही दिन मृत्यु हार्दै जाओस् र जीवनले जितिरहोस् भन्ने कामना गरेका छन्।विपत्तिको बीचबाट मानिसलाई तानेर जीवनमा फर्काउने साहसी हातहरू र हार नमानी आफ्नो सास जोगाइराख्ने अदम्य जीवनहरूको फेहरिस्त अझै लम्बिँदै जाओस् भन्दै उनले हरेक पर्खाइको अन्त्य मिलनमा र हरेक अँध्यारोको अन्त्य उज्यालोमा होस् भन्ने कामना गरेका छन्।अन्त्यमा भगवान् कृष्णसँग यही कामना गर्दै आचार्यले सबैमा कृष्ण जन्माष्टमीको शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार