• २०८३ भाद्र १९ गते शुक्रवार
  • Preeti To Unicode

१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, गृहमन्त्री गुरुङले भने– ‘आशाको किरण अझै जीवितै छ’

१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, गृहमन्त्री गुरुङले भने– ‘आशाको किरण अझै जीवितै छ’

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामा ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कवीर महर्जन रहेका छन्। साह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा आयोजनामा कार्यरत थिए।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण प्राविधिक काममा संलग्न रहेका उनीहरू सुरुङभित्र थुनिएका थिए। लामो समयपछि जीवितै उद्धार भएपछि उनीहरूलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ। उद्धार गरिएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत दुई जनाको जीवितै उद्धार हुनुलाई ‘आशाको किरण’को संज्ञा दिएका छन्। उनले उद्धार कार्यमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) तथा सेन्ट्रल कमान्ड सेन्टरको टोलीलाई धन्यवाद दिएका छन्। साथै, निरन्तर उद्धार प्रयासमा सक्रिय सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेको पनि उच्च कदर गरेका छन्।

गृहमन्त्री गुरुङ शुक्रबार बिहानै उद्धारस्थलमा पुगेका थिए। उनले उद्धार कार्यमा प्रत्यक्ष रूपमा सहभागी भएको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसको चर्चा भइरहेको छ। उनका अनुसार आयोजनाका अन्य सुरुङहरूमा पनि उद्धार टोलीले निरन्तर खोज तथा उद्धार कार्य जारी राखेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार