काठमाडौं। ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ले नेपालका बाढी प्रभावित क्षेत्रका लागि पठाएको २७ टन राहत सामग्री बिहीबार काठमाडौं आइपुगेको छ। चाइना साउदर्न एयरलाइन्सको पूर्ण सहयोगमा नेपाल ल्याइएको उक्त राहत सामग्रीमा ६ हजार मेडिकल बडी ब्याग, १७५ वटा टेन्ट, १ हजार सिरक, १ हजार ज्याकेट र १ हजार आपत्कालीन मानवीय राहत बाकस रहेका छन्। चिनियाँ व्यवसायी तथा सर्वसाधारणले दान गरेका यी सामग्रीको कुल मूल्य १० लाख युआनभन्दा बढी रहेको बताइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)को निर्देशनअनुसार उक्त राहत सामग्री रसुवाका बाढी प्रभावित क्षेत्रमा पठाइनेछ। राहत सामग्रीले प्रभावित बासिन्दाका लागि गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय उद्धार तथा आपत्कालीन टोलीलाई बाढीपहिरोमा ज्यान गुमाएकाहरूको शव सुरक्षित, उचित र मर्यादित रूपमा व्यवस्थापन गर्न समेत सहयोग पुग्ने जनाइएको छ।