काठमाडौं । लाङटाङको उत्तरी भेगमा हिमचट्टान खसेर बनेका दुईवटा तालमध्ये अहिले तत्काल कुनै पनि ताल जोखिमपूर्ण अवस्थामा नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार चिनियाँ टोलीले माथिल्लो तालमा पानीको मात्रा केही बढे पनि हालसम्म खतराको तहमा नपुगेको जानकारी नेपाली पक्षलाई दिएको छ । हिमचट्टान खसेपछि माथिल्लो भागमा पहिलो खाल्डो तथा ल्हेन्दे खोलाको माथिल्लो भागमा दोस्रो खाल्डो बनेका थिए । चिनियाँ टोलीले खोलाछेउको तल्लो ताललाई ‘ब्यारियर लेक वान’ र माथिल्लो भागको ताललाई ‘ब्यारियर लेक टु’ नाम दिएको छ । तल्लो तालबाट लगभग सबै पानी बगिसकेकाले त्यहाँ पानी जम्मा नभएको र तत्काल समस्या नरहेको पराजुलीले बताए । उनका अनुसार करिब ०.१९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको माथिल्लो तालमा पानीको सतह करिब दुई मिटर बढ्दा झण्डै ६ लाख घनमिटर पानी जम्मा भएको अनुमान गरिएको छ । चिनियाँ टोलीले आफ्नो भूभागबाट नेपाली भूभागतर्फ रहेको तालको निरन्तर अवलोकन गरिरहेको र त्यससम्बन्धी सूचना नेपाली पक्षलाई पठाइरहेको छ । गत १० भदौमा रसुवामा आएको बाढीपछि लाङटाङ हिमालको उत्तरी भागमा नेपाल–चीन सीमाना नजिक दुईवटा ताल बनेका थिए । त्यसको चार दिनपछि तल्लो ताल फुटेर पानी बग्दा भोटेकोशीमा पुनः बाढी आएको थियो । उक्त बाढीपछि तल्लो ताल रित्तिएको र हाल माथिल्लो तालको अवस्थासमेत जोखिमपूर्ण नरहेको महाशाखाले जनाएको छ ।