• २०८३ कार्तिक २८ गते शुक्रवार
  • Preeti To Unicode

बाढीमा श्रीमान्लाई घिसारेर बचाउने ७० वर्षीया कान्छी

बाढीमा श्रीमान्लाई घिसारेर बचाउने ७० वर्षीया कान्छी

काठमाडौं । ‘आयो… आयो… आयो…, खोलाले लाने भयो…!’ एकाएक मानिसहरू कराउन थालेपछि त्रिशूलीको पुरानो बजार, वडा नम्बर १ मा खैलाबैला मच्चियो। वर्षौंदेखि आफ्नै बाटोमा बगिरहेको खोला त्यस दिन सीमाना नाघेर बस्तीमा पस्न थाल्यो। पानी उफ्रँदै र फैलँदै घरतिर बढेपछि मानिसहरू ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भाग्न थाले।

त्यही त्रासदीपूर्ण दृश्य ७० वर्षीया कान्छी श्रेष्ठले आफ्नै आँखाले देखिन्। उनका ८८ वर्षीय श्रीमान् सिद्धिबहादुर श्रेष्ठ, छोरा श्याम र नाती घरमै थिए। बाढी घरनजिकै आउनुअघि छोरा श्यामले वृद्ध दम्पतीलाई घर छोडेर सुरक्षित स्थानतर्फ जान आग्रह गरेका थिए। उनीहरूलाई ट्याम्पुमा राखेर लैजाने प्रयाससमेत गरिएको थियो। तर, जीवन बिताएको घर, वर्षौंको पसिना र जोडेको सम्पत्ति छोडेर अनिश्चित ठाउँतिर जान वृद्ध दम्पती तयार भएनन्।

‘हामी मरे पनि मर्छौं, यहीँ मर्छौं,’ उनीहरूले भनेका थिए। तर, केही समयमै परिस्थिति यस्तो बन्यो कि घरमै बसिरहनु मृत्यु पर्खनुसरह भयो। पानी घरनजिकै आउन थालेपछि कान्छीले ज्यान जोगाउन घरबाट निस्कनुपर्ने निर्णय गरिन्। उनका श्रीमान् सिद्धिबहादुर सामान्य अवस्थामा पनि धेरै हिँड्न सक्दैनथे। उमेरका कारण शरीर कमजोर थियो भने आँखाले पनि राम्रोसँग देख्दैनथ्यो।

आफ्नो ज्यान जोगाएर भाग्ने कि हिँड्न नसक्ने श्रीमान्लाई पनि सँगै लैजाने भन्ने निर्णय गर्ने समय कान्छीसँग थिएन। उनले श्रीमान्लाई छोडिनन्। सकिनसकी समातिन्, तानिन् र घिसार्दै सुरक्षित स्थानतर्फ ल्याइन्। उनकी छोरी संगीता तामाङका अनुसार आमाले बुवालाई तानेर ल्याउँदा शरीरमा चोटसमेत लागेको छ। गाउँलेहरूले पनि वृद्ध दम्पतीलाई देखेपछि उद्धारमा सहयोग गरेका थिए।

बाढीबाट ज्यान जोगिए पनि त्यस दिनको त्रास कान्छीको मनबाट हट्न सकेको छैन। उनी अहिले पनि एकोहोरिने, तर्सिने, झस्किने र रोइरहने गर्छिन्। छोरीका अनुसार बाढीको घटना सम्झँदा आमाको खुट्टा काँप्ने, निद्रा नलाग्ने र खाना खान मन नलाग्ने भएको छ। मोबाइलमा बाढीका भिडियो देख्दा पनि उनी रुन थाल्छिन्। अरूका लागि ती सामान्य दृश्य भए पनि उनका लागि भने आफ्नै आँखाले भोगेको त्रासदी हुन्।

उता, काठमाडौंको वीर अस्पतालमा ८८ वर्षीय सिद्धिबहादुर उपचाररत छन्। बाढीको घटनाका धेरै कुरा उनलाई अहिले स्पष्ट सम्झना छैन। कहिलेकाहीँ उनी छोरीलाई ‘मलाई कसले तानेर लग्यो ?’ भनेर सोध्छन्। छोरीको जवाफ हुन्छ, ‘तपाईंलाई आमाले तानेर बचाउनुभएको हो।’

बाढीका बेला आमाबुबालाई घर छोड्न मनाउन नसकेका श्याम भने आफ्नो र छोराको ज्यान जोगाउन माथितिर भागेका थिए। बुबाआमाले घर छोड्न नमानेपछि उनले छोरालाई भए पनि बचाउनुपर्छ भनेर लिएर हिँडेको बताए। उनीहरू खाना खान बसिरहेका बेला बाढीको खबर फैलिएपछि खाना नै छोडेर भागेका थिए। केही समयमै उनीहरूले छोडेर आएको घरतर्फ पानी उर्लियो।

आफू र छोराको ज्यान जोगाएर माथि पुगेपछि श्यामलाई सबैभन्दा ठूलो चिन्ता बुबाआमाकै भयो। फोन सम्पर्कसमेत टुट्दै र जोडिँदै थियो। केही समयसम्म उनीहरूको कुनै खबर नआएपछि श्यामले बुबाआमा अब बाँचेनन् होला भन्ने ठाने। ‘बुबाआमा गइसक्नुभयो होला भनेर सोचिसकेको थिएँ। मलाई ग्लानी भइरहेको थियो,’ उनले सम्झिए।

तर, केही घण्टापछि आफन्तमार्फत वृद्ध दम्पती जीवितै रहेको खबर आयो। ‘तपाईंको बुबाआमा उता हुनुहुन्छ रे’ भन्ने खबर पाएपछि श्याम फेरि उनीहरूलाई खोज्न दौडिए। त्यसबेला उनलाई घर, जग्गा र सम्पत्तिभन्दा बुबाआमाको ज्यानको चिन्ता ठूलो भइसकेको थियो। वृद्ध दम्पतीलाई जीवित देखेपछि मात्र उनको सास फर्कियो।

दुई दिनसम्म सुरक्षित स्थानमा राखेपछि बुबाको अवस्था कमजोर हुँदै गएपछि श्यामले हेलिकप्टरबाट काठमाडौं पठाउने व्यवस्था मिलाए। काठमाडौंमा रहेकी छोरी संगीतालाई पनि दुई दिनपछि बिहान ६ बजे भाइको फोन आयो। ‘दिदी, हामी सकुशल छौं, बुबालाई साह्रै गाह्रो भइरहेको छ। उपचारका लागि काठमाडौं लाने कुरा भइरहेको छ,’ भाइले भने। बाबुआमा जीवित रहेको खबर सुनेपछि संगीता पनि तत्काल उनीहरू भएको ठाउँतर्फ पुगिन्।

हेलिकप्टरबाट उद्धार गरिएका सिद्धिबहादुरलाई सेनाका जवानहरूले बोकेर ल्याएका थिए। त्यो दृश्य देख्दा संगीतालाई बुवाको उमेरभन्दा पनि उनी त्यहाँसम्म कसरी आइपुगे भन्ने प्रश्नले झस्कायो। आमाले बुवाको ज्यान जोगाउन गरेको साहस सम्झँदा आफूलाई अझै विश्वास लाग्न नसक्ने उनी बताउँछिन्।

काठमाडौं ल्याइएका वृद्ध दम्पतीलाई सिधै वीर अस्पताल लगेर भर्ना गरिएको छ। बाढीको पानीबाट बाहिर निस्किएपछि पनि उनीहरूको संघर्ष रोकिएको छैन। उमेरले कमजोर बनाएको शरीरमाथि बाढीको भागदौड थपिएको छ। सिद्धिबहादुरको उपचारका क्रममा मिर्गौलासम्बन्धी समस्या र पित्तथैलीमा पत्थरी देखिएको बताइएको छ भने दाँत निकाल्नुपर्ने अवस्था पनि छ।

बाढीले उनीहरूको ज्यान मात्रै जोखिममा पारेन, वर्षौंको दुःख र कमाइ पनि बगाइदियो। श्यामले मलेसियामा पसिना बगाएर कमाएको पैसाबाट परिवारका लागि घर बनाएका थिए। वैदेशिक रोजगारीबाट फर्किएपछि फेरि विदेश जान नपरोस् भनेर ऋण लिएर ट्याम्पुसमेत किनेका थिए। त्यही ट्याम्पु चलाएर परिवार पाल्ने र ऋण तिर्ने उनको योजना थियो। तर, बाढीले घर र ट्याम्पु दुवै खोसिदियो।

‘खाइनखाई दुःख गरेर घर जोडेको थिएँ। त्यही घर पनि गयो। बाहिर नगई यहीँ केही गरौं भनेर ऋण गरेर ट्याम्पु किनेको थिएँ, अब त्यो पनि छैन,’ श्यामको प्रश्न छ, ‘घर गयो, ट्याम्पु गयो। अब कसरी गर्ने, के गर्ने भन्ने नै थाहा छैन। कहाँबाट फेरि सुरु गर्ने?’

श्यामकी श्रीमती अहिले वैदेशिक रोजगारीका लागि कुवेतमा छिन्। तर, उनको कमाइ पनि सोचेअनुसार नभएको श्याम बताउँछन्। उनी आफैं अहिले गाउँनजिकैको शिविरमा छन् भने उनका बुबा काठमाडौंको वीर अस्पतालमा उपचाररत छन्।

छोरी संगीता पनि आफ्नो आर्थिक अवस्था कमजोर रहेको बताउँछिन्। बुबाआमाको ज्यान जोगिए पनि अब उनीहरूलाई कसरी सम्हाल्ने भन्ने चिन्ता उनको अगाडि छ। ‘बाहिरी घाउको अस्पतालले पैसा नलिए पनि दीर्घरोगको उपचार कसरी हुन्छ ? मसँग के छ र ?’ उनी प्रश्न गर्छिन्। आफ्नै गुजारा चलाउन कठिन अवस्थामा रहेकी संगीतालाई वृद्ध बुवाआमाको उपचार र भविष्यको जिम्मेवारीले झन् पिरोलेको छ।

श्यामको परिवारको पीडा अहिले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका धेरै परिवारको साझा कथा बनेको छ। बाढीले कसैका आफन्त खोसेको छ, कसैलाई बेपत्ता बनाएको छ भने कसैको वर्षौंको कमाइ, घर, सम्पत्ति र रोजगारीको आधार नै समाप्त गरिदिएको छ। ज्यान जोगिएकाहरूका अगाडि अब नयाँ प्रश्न उभिएको छ—‘अब कहाँबाट फेरि सुरु गर्ने?’

वीर अस्पतालको शय्यामा उपचाररत ८८ वर्षीय सिद्धिबहादुरको अवस्था त्यही ठूलो विपत्तिको एउटा सानो तस्वीर हो। उनकी श्रीमती कान्छी अझै बाढीको त्रासबाट बाहिरिन सकेकी छैनन्। छोरा श्यामको घर र रोजगारीको आधार गुमेको छ। छोरी संगीता बुवाको उपचार र परिवारको भविष्यलाई लिएर चिन्तित छिन्। बाढीले उनीहरूको घर मात्र बगाएको छैन, वर्षौं लगाएर बनाएको जीवन नै भत्काइदिएको छ।

तर, त्यही बाढीबीच कान्छीले देखाएको साहसले एउटा कुरा भने प्रमाणित गरेको छ—विपत्ति जतिसुकै ठूलो होस्, बाँच्ने चाहना र आफ्ना मान्छेलाई बचाउने माया अझ ठूलो हुँदो रहेछ। अब यो परिवारका लागि चुनौती भनेको ज्यान जोगिएपछि जीवनलाई फेरि शून्यबाट सुरु गर्नु हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार