परेवा भीरमा सडक मर्मत तीव्र, आज साँझसम्म सञ्चालन गर्ने तयारी

परेवा भीरमा सडक मर्मत तीव्र, आज साँझसम्म सञ्चालन गर्ने तयारी

 

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्के खोला र मलेखुको बीचमा पर्ने परेवा भीरमा अवरुद्ध सडक पुनः सञ्चालनका लागि मर्मत कार्यलाई तीव्रता दिइएको छ। गत भदौ १० गते र त्यसपछिको त्रिशूली नदीको बाढीका कारण सडकको एक हिस्सा भासिएपछि उक्त खण्डमा यातायात सेवा प्रभावित हुँदै आएको थियो।

सडक विभागका अनुसार हाल प्राविधिक टोलीले सडकको ग्रेड मिलाउने तथा सतह सम्याउने काम गरिरहेको छ। नदीको कटान र सडक भासिएपछि जोखिमपूर्ण बनेको उक्त खण्डलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माण तथा मर्मत कार्यलाई प्राथमिकतामा राखिएको विभागले जनाएको छ।

मौसम अनुकूल रहेमा आज साँझसम्म सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। देशको मुख्य जीवनरेखाका रूपमा रहेको पृथ्वी राजमार्गको यो खण्ड अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधनले निकै सास्ती खेप्दै आएका छन्।सडक मर्मत सम्पन्न भई यातायात पुनः सञ्चालनमा आएपछि यस क्षेत्रमा देखिएको सवारी चाप कम हुनुका साथै यात्रुहरूको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार